खेलकुद

‘सचेतनामूलक हाफ म्याराथन’को उपाधि आर्मीलाई

काठमाडौँ । श्री कृष्ण प्रणामी युवा परिषद् नेपालले आयोजना गरेको ‘सचेतनामूलक हाफ म्याराथन’को उपाधि त्रिभुवन आर्मी क्लबका कल्याण बानियाँले जितेका छन् ।

संस्थाको २९औँ स्थापना दिवसका अवसरमा आज भएको प्रतियोगितामा बानियाँले निर्धारित दूरी एक घण्टा सात मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन् । त्यसैगरी आर्मीकै हरिकुमार रिजालले निर्धारित दूरी एक घण्टा आठ मिनेटमा पूरा गर्दै दोस्रो भएका छन् ।

आर्मीकै राजन रोकाया निर्धारित दूरी एक घण्टा आठ मिनेट २८ सेकेण्डमा पूरा गर्दै तेस्रो भए । कोटेश्वरबाट शुरु भएको म्याराथन नयाँ बानेश्वर, बबरमहल, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेलबाट फेरी कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी, कलङ्की, खसीबजार, बल्खु, एकान्तकुना, सातदोबाटो, बालकुमारी हुँदै पुनः कोटेश्वर पुगी समापन भएको थियो ।

कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ३०, २० र १५ हजार पुरस्कार प्राप्त गरे । युवामा सकारात्मक सोच, मानवमा सहयोग र सेवाको भावना अभिवृद्धि गराउन जनचेतनामूलक हाफ म्याराथन दौड प्रतियोगिता गरिएको संस्थाका अध्यक्ष नमराज ढकालले जानकारी दिए ।