समाचार

भरतपुर विमानस्थलको स्तरोन्नति गरिनेः मन्त्री अधिकारी

भरतपुर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले भरतपुर विमानस्थलको स्तरोन्नति गरिने बताएका छन्। आज भरतपुर विमानस्थलका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अधिकारीले विमानस्थलको स्तरोन्नतिको पहल भइरहेको भन्दै व्यवस्थापकीय पक्षलाई ध्यान दिन आग्रह गरे ।

बढ्दो जनघनत्व, छोटो धावन मार्ग र विमानको चापका कारण विमानस्थलको स्तरोन्नति जरुरी रहेको उनको भनाइ छ । मन्त्री अधिकारीले देशका अधिकांश विमानस्थलको स्तरोन्नति भएको भन्दै सरकारले विमानस्थल सुधारका लागि तीव्रताका साथ काम गरिरहेको बताए ।

विमानस्थलको सौन्दर्य कायम गर्न र यात्रु कक्षमा वन्यजन्तुको तस्वीर झल्कने खालका सामग्री राख्न मन्त्री अधिकारीले निर्देशन दिए । ‘विमानस्थललाई एक महीनाभित्र सुधार गर्नेगरी काम गर्नुहोस्,मन्त्री अधिकारीले भन्नुभयो’, “हेर्दा आकर्षक र मनमोहक बनाउनुहोस् ।”

भरतपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला र सिटी हल निर्माण हुन लागेका कारण पनि विमानस्थलको क्षमता विस्तार गर्नुपर्ने भरतपुर नागरिक उड्डयन कार्यालय प्रमुख पवनकुमार गौतमले बताए । उनले विमानस्थल साँघुरो र धावन मार्ग छोटो भएका कारण समस्या आउने गरेको बताए । भरतपुर विमानस्थलमा दैनिक १० वटासम्म उडान हुने गरेको छ ।