पर्यटन/संस्कृति

पर्यटकीय गन्तव्य ‘धरमपोखरी’

परासी । भगवान् गौतमबुद्धकी आमा मायादेवी माइत आउँदा नुहाउने गरेको धरमपोखरी ताललाई धार्मिक पर्यटनको रुपमा विकास गरिने भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ धरमपुर गाउँमा रहेको उक्त पोखरीलाई रामग्राम नगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको हो । प्रकृतिको उपहार मनोरम वातावरणमा अवस्थित तीन बिघा क्षेत्रफलमा फैलिएको धरमपोखरीको बुद्धशान्ति साझेदारी वन समूह र स्थानीयवासीले संरक्षण गर्दै आएका छन् । प्राचीन महत्व रहेको उक्त तालका पानी कहिल्यै नसुकेको इतिहाससमेत रहेको स्थानीयवासी दीपक गैरेले बताए ।

“हाम्रा बुढापाकाले सुनाउने गरेको किंवदन्तीअनुसार यो तालमा मायादेवीले माइत आउँदा स्नान गर्नुहुन्थ्यो, धेरैवर्ष पहिलेसम्म यस तालबाट सुनका थाल निस्कन्थे”, उनले भने, “पानी कहिल्यै सुकेको छैन्, गाउँमा विवाह उत्सव तथा पूजाअर्चनामा पनि यस तालको पानीलाई जलको रुपमा प्रयोग गरिन्थ्यो, तर यसको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।” यसै पोखरीको नामबाट गाउँको नाम पनि धरमपुर रहन गएको स्थानीयवासी बताउँछन् । तालको पूर्वपट्टि बुद्धको मूर्ति रहेको छ भने छेउमै नर्मदेश्वर शिवालय मन्दिर, धरमदेवी माताको मूर्ति, हात्तीको मूर्तिका साथै १०८ पीपलका रुखसमेत रहेका छन् ।

केही वर्षदेखि गाईवस्तुले पानी पिउने र नुहाउने पोखरीको रुपमा परिणत भएपछि तीन महीनाअघि बुद्धशान्ति साझेदारी वन समूहले तालको सफाइ गरेर वरपर तारबार लगाइएको स्थानीयवासीले बताएका छन् । ताल छेउमा रहेको पुरानो माटोबाट बनेको शिवालय मन्दिर भत्काएर अहिले आधुनिक शिवालय मन्दिरको निर्माण कार्य पनि भइरहेको छ ।  गाउँलेले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम तथा स्वेच्छाले दान गरेको रकमबाट मन्दिर निर्माण कार्य भइरहेको र शिवरात्रिमा उद्घाटन गर्ने लक्ष्य रहेको वडासदस्य तारा नेपालीले बताए । रमणीय वातावरण र धार्मिक क्षेत्रको रुपमा रहेको यस स्थललाई पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीयवासीले माग गरेका छन् ।
सो क्षेत्रलाई धार्मिक पर्यटकीयस्थल बनाउन सके यहाँ आन्तरिक तथा बाह्य पर्यटक आगमन बढ्ने ठूलो सम्भावना रहेको स्थानीयवासी गोपालले बताए ।

“यस तालको ऐतिहासिक महत्व छ, तर प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो”, उनले भने, “स्थानीय सरकारबाट यो ठाउँको संरक्षण र पर्यटकीय क्षेत्र बनाउन पहल हुनुपर्छ ।” ताल र यस वरपर रहेका धार्मिकस्थललाई एकीकृत हुने गरी योजना बनाई वनभोजस्थल तथा मनोरम वातावरणमा रमाउने स्थलको रुपमा सो क्षेत्रलाई विकास गर्नसके आन्तरिक मात्र नभई बाह्य पर्यटक भित्र्याउन पनि सहज हुने स्थानीयवासीको भनाइ छ । बुद्धको इतिहाससँग जोडिएको यो ताल बुद्धको मावली र बुद्धको अस्थिधातु सुरक्षित रहेको रामग्राम स्तुपको बीचमा पर्ने भएकाले बौद्ध पर्यटकलाई पनि यहाँ ल्याउन पहल गर्नुपर्ने गाउँलेको जोड छ । सरकारले बनाउन लागेको बुद्धसर्किटसँग पनि यस स्थललाई जोड्नुपर्ने गाउँलेको माग छ । तालको अवलोकन गर्दै रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले यस क्षेत्रलाई धार्मिक पर्यटनसँग जोडेर विकास गरिने बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले मन्दिरमा शिवलिङ्ग प्रतिस्थापन गर्न र ताल क्षेत्रको विकास गर्न नगरपालिकाले उचित बजेट छुट्याउने बताएका छन् ।