लुम्बिनी

भरुवा बन्दुकसहित पक्राउ

लमही । दाङको शान्तिनगर गाउँपालिका–१ बागखोर स्थित सामुदायिक वनमा शिकार गर्ने उद्देश्यले जाँदै गरेका तीन जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । दुई थान भरुवा बन्दुकसहित शान्तिनगर–१ निवासी ४३ वर्षीय ताराप्रसाद राना, सल्यान त्रिवेणी गाउँपालिका–१ बस्ने २९ वर्षीय दीपक खत्री र सोही ठाउँका १६ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ६ को दफा १२९ बमोजिम ९ हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यसैबीच दाङमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । राप्ती गाउँपालिका–१ पाखापानी निवासी कासीराम कुमालको घरमा गए राति आगालागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार खरले छाएको घरको भान्साकोठामा बालेको आगोबाट अचानक आगलागी भएको हो । आगलागी हुँदा घरमा रहेका १०/१२ वटा कुखुरा, अन्नपात, लत्ताकपडा, जिन्सी सामान जलेकोे छ । प्रहरी तथा स्थानीयवासीको सक्रियतामा गए राति नै आगो नियन्त्रणमा लिइएको हो ।