कृषि

जिन्दगीमा धेरै ठक्कर खाएका डाँगी एकाएक यसरी बने सफल उद्यमी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ४२ वर्षीय चन्द्रबहादुर डाँगी व्यावसायिक रूपमा उन्नत जातका गाईपालनमा लागेर छोटो समयमै एक सफल उद्यमी बनेका छन् ।

आफ्नो परिवारका तीन सदस्यसहित विगत तीन वर्षदेखि गाईपालनमा संलग्न उनले स्थानीय अन्य दुईलाई आंशिक रोजगारी पनि दिएका छन् ।

यो पेशाबाट सन्तुष्ट रहेका डाँगी भन्छन्, “वार्षिक करीब रु आठ लाख बचत गर्न सफल भएको छु, यसमै सन्तोष मान्नुपर्छ ।”नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षकसम्म भएका उनको दिनचर्या मिर्मिरे उज्यालोदेखि शुरु हुन्छ ।

विसं २०५५ मा जाजरकोटको रक्दा इलाका प्रहरी कार्यालयमा रहँदा नेकपा माओवादीले थापेको एम्बुसमा परी आफू घाइते भएको र सरकारले द्वन्द्वमा परी अशक्त, घाइते भएका सुरक्षाकर्मीलाई सेवाबाट अवकाश दिने नीति ल्याएकाले विसं २०५९ मा सेवानिवृत्त भएको उनी बताउछन् ।

बसाइँ सेरेर दाङको तुलसीपुर आएका डाँगीले आफ्नो स्वास्थ्यमा सुधार आएपछि तुलसीपुरमा होटल सञ्चालन गर्दा बढी घाटा व्यहोर्नुपरेकाले त्यसपछि एक स्थानीय सहकारीमा गरेको थिएँ भन्छन् । सहकारीमा रहँदा आफूले गाई पालनबारे राम्रोसँग जानकारी पाएकाले विसं २०७२ देखि साहारा पशुपालन फार्म खोलेर उन्नत जातको गाईपालनको शुरुआत गरेको उनको भनाई छ ।

शुरुका वर्षमा स्थानीय व्यक्तिको दुई बिघा जमीन वार्षिक रु १२ हजारमा भाडामा लिई रु एक लाख लगानी गरेर एउटा जर्सी गाईबाट सेवा शुरु गरेका डाँगीकहाँ अहिले चारा जर्सी, दश होलेस्टन, एउटा शाहीवाल जातका गरी जम्मा १५ गाई र १० बाच्छाबाच्छी छन् ।

एउटा जर्सी गाईको मुल्य रु एक लाख, होलेस्टन जातको गाईको मूल्य रु दुई लाख र साहीवाल जातको गाईको मूल्य रु एक लाख ५० हजार पर्ने उनी बताउछन् । अहिले दैनिक ७० देखि ८० लिटर दूध स्थानीय तुलसीपुरका दुग्ध उद्योगमा बिक्री हुन्छ भने भने केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरिद गरी लिने गरेका उनको भनाइ छ ।