शिक्षा

रोजगार संयोजकमा २४ हजारको आवेदन

काठमाडौँ । प्रत्येक स्थानीय तह मातहत रही सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रहने रोजगार संयोजकमा करीब २४ हजारले आवेदन गरेका छन् ।

यही माघ ४ गतेदेखि आवेदन खुल्ला गरिएकामा आज अपराह्नसम्म सातै प्रदेशमा गरी २३ हजार ९८६ जनाले रोजगार संयोजकका लागि आवेदन पेश गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले ७५३ स्थानीय तहमा एक/एक जना रहने गरी रोजगार संयोजकको आवेदन गरेको थियो । प्रदेश नं १ बाट तीन हजार ६६५, प्रदेश नं २ बाट तीन हजार ६७१, प्रदेश नं ३ बाट चार हजार ९९४, गण्डकी प्रदेशबाट एक हजार ९५५, प्रदेश नं ५ बाट दुई हजार ३०१, कर्णाली प्रदेशबाट तीन हजार ३७८ र सुदूरपश्चिम प्रदेशबाट चार हजार चार जनाको आवेदन परेको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले जानकारी दिए ।

प्राप्त दरखास्तबाट तोकिएको मापदण्डका आधारमा स्वचालित कम्युटर प्रणालीबाट रिक्त पदको तीन गुणा बराबरको आवेदकको प्रारम्भिक सूची तयार गरिने उनले जानकारी दिए । प्रारम्भिक छनोट सकिएसँगै कम्प्युटर सीप परीक्षाका लागि सूचना जारी गरिने उनको भनाइ थियो । रोजगार संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्याङक सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र प्रदान गर्ने छन् ।

रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, बेरोजगारको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालीमको पहिचान गरी सम्बन्धित तालीम केन्द्रमा सिफारिस गर्नेछन् । बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने र रोजगारसम्बन्धी सरोकारवालाई सहजीकरण गर्नेछन् ।