आर्थिक

ब्याज वृद्धिविरुद्ध व्यवसायी आन्दोलित

धनगढी । निजी बैंकहरुले ऋणको ब्याजदर मनपरी ढङ्गले वृद्धि गरेको भन्दै कैलालीका व्यवसायीहरु आन्दोलित बनेका छन् ।
उद्योग वाणिज्य सङ्घको आयोजनामा व्यापारीहरुले आज यहाँ विरोध प्रदर्शन गरेका छन् । विरोधपछि आयोजित सभामा वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले बैंकिङ क्षेत्रमा देखिएको कालोबजारी बन्द गरी व्यवसायीका लागि तोकिएकै आठ प्रतिशत ब्याजदर कायम गरिनुपर्ने माग गरे ।

सङ्घका पूर्वअध्यक्ष गोपाल हमालले बैंकको मनपरी ब्याजदरका कारण उद्योगी–व्यवसायी मारमा परेको बताए । कतिपय निजी बैंकले एउटै प्रकृतिको व्यवसायमा ऋण लगानी गर्दा ऋणीको अनुहार हेरेर फरक–फरक ब्याजदर असुल गरिरहेको गुनासो व्यवसायीको छ । ब्याजदरमा एकरुपता नआउँदा बेरोजगारी र महङ्गी बढ्ने तथा देशकै अर्थतन्त्रमा समस्या आउनेतर्फ व्यवसायीले सचेत गराएका छन् ।