प्रदेश 1

पूर्वका टिपर व्यवसायी आन्दोलित

उर्लाबारी । गत सोमबार मोरङको सुन्दरहरैचा नगरपालिका–९ मा सात वटा टिपरमा गरिएको आगजनीको विरोधमा पूर्वका टिपर व्यवसायी आन्दोलित भएका छन् ।

आगजनीको विरोधमा पूर्वाञ्चल टिपर व्यवसायी सङ्घको आयोजनामा आज टिपर व्यवसायीले विरोध ¥याली निकालेका छन् । ¥यालीलाई प्रहरीले रोक्न खोजेपछि कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका र बूढीगङ्गा गाउँपालिकाको सिमानामा रहेको ढाट क्षेत्रमा केहीबेर तनाव भएको थियो ।

विराटचौकबाट विराटनगरसम्म टिपर ¥यालीको आयोजना गरिएको थियो । उक्त ¥यालीमा तीन सयभन्दा बढी टिपर सहभागी थिए । पूरै सडकमा टिपर तेस्र्याइएपछि कोशी राजमार्ग अवरुद्ध बनेको थियो । प्रहरीले रोकेपछि टिपर चालकहरु सडकमा उत्रिएर नाराबाजी गरेका छन् ।

गत सोमबार बिहान सुन्दरपुरहरैँचा–९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएको थियो । त्यसपछि आक्रोशमा सडकमा उत्रिएका स्थानीयवासीले ठक्कर दिएकोसहित सातवटा टिपरमाथि आगजनी गरेका थिए । सो घटनाको विरुद्धमा टिपर व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

सङ्घर्ष समितिका संयोजक सन्दीपकुमार सिंहले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको आरोप लगाए । उनले निर्बाध रुपमा सडकमा कुद्न पाउनुपर्ने, सुन्दरहरैँचामा जलाइएका टिपर व्यवसायीलाई राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने, टिपर जलाउनेको पहिचान गरेर कारवाही गर्नुपर्नेलगायत माग राखेर आन्दोलन गरेको जानकारी दिए ।