समाचार

प्रधानमन्त्रीको मन्त्रीहरुलाई निर्देशनः जनताका कामका लागि साँसदसंग घनिष्ठ सम्बन्ध राख्नुस

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सही बाटो र नीति लिएको उल्लेख गर्दै पार्टी एकताको प्रक्रियाले चाँडै अन्तिमरुप लिने बताएका छन् ।

नेकपाका सांसदहरुसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न सुझाव दिए । “पार्टीको एकता प्रक्रिया टुङ्गोमा नपुग्दा केही अन्योल भएको छ तर अब चाँडै यो प्रक्रियाले अन्तिम रुप लिन्छ,” प्रधानमन्त्री ओलीले भने, “त्यसपछि पार्टीका नीति निर्देशन, स्थानीय तहमा पुग्छन् । त्यसपछि स्थानीय तहहरुलाई निर्देशित गर्न पनि सजिलो हुन्छ ।”

तत्कालीन नेकपा (एमाले)ले र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भए पनि तल्ला तहको एकीकरणका लागि कार्यदलले काम गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने तथा सांसदहरुलाई विभिन्न विषयमा प्रशिक्षित गरिने जानकारी दिए । उनले मन्त्रीहरुलाई सांसदहरुसँग घनिष्ट सम्बन्ध राख्न आग्रह गरेका छन् । “कतिपय अवस्थामा मन्त्रीहरु सिधै जनतासँग जोडिन सकेका हुँदैनन्, त्यसका लागि सांसदहरुमार्फत मन्त्रीहरुले जनताका कुरा सुन्ने र आफ्ना कुरा जनताा पठाउने हो,” प्रधानमन्त्री ओलीले भने ।

लगानी मैत्री वातावरण बनाउन सरकार तयार

यसैगरी प्रधानमन्त्री ओलीले लगानी मैत्री वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् ।

कूटनीतिक नियोगका प्रतिनिधिलाई परराष्ट्र मन्त्रालयको आयोजनामा आज दिइएको बिफ्रिङका क्रममा प्रधानमन्त्री ओलीले लगानीमैत्री वातावरणका लागि कानूनमा सुधार गर्ने काम भइरहेको बताएका हुन् । “लगानी मैत्री वातावरणका लागि कानून सुधारका काम भइरहेका छन्,” उनले भने, “खासगरी लगानी मैत्री वातावरण, लगानीको सुरक्षामा हामी गम्भीर छौँ ।”

विदेश मामिला नेपालको हितका लागि भएको बताउँदै प्रधानमन्त्री ओलीले भने, “हामी राष्ट्रिय हितलाई पनि ख्याल गर्छौं र मित्र राष्ट्रहरुको संवेदनशीलतालाई पनि ख्याल गर्छौं ।”