पर्यटन/संस्कृति

विश्व सिमसार दिवस, पर्यापर्यटनका लागि सिमसार

काठमाडौँ । हरेक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसार तथा जलवायु परिवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । यसले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै वन तथा वातावरण मन्त्रालयले सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ ।

जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थलको रूपमा रहेको सिमसारले मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्ने बताए । सिमसार संरक्षण तथा पर्यापर्यटन विकासमा सिमसारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पर्यटकका लागि पौडी खेल्ने, डुङ्गा चलाउनेदेखि सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायतका प्राकृतिक सौन्दर्यताको अनुभव सिमसारले नै उपलब्ध गराउने उनले बतार्ए ।

सिमसारमा आश्रित समुदायको गरीबी निवारणमा पनि पर्यटन विकासले ठूलो भूमिका खेलेको हुन्छ । उपमहानिर्देशक कँडेलले भने, “पर्यटनले जैविक विविधताको संरक्षणलाई आर्थिक स्रोत जुटाउने कार्य पनि गर्छ भने स्थानीय समुदायलाई आर्थिक उपार्जनका लागि अवसर पनि प्रदान गर्छ ।” यसका लागि दिगो पर्यटनको विकास र सिमसार संरक्षणको उचित सन्तुलन हुनु जरुरी छ । नेपालको आर्थिक वृद्धिदरमा ३ दशमलव ५ प्रतिशत पर्यटन विकासले योगदान दिएको छ भने १५ प्रतिशत कूल वैदेशिक मुद्राको आय पनि पर्यटन विकासबाट नै हुने गरेको देखिन्छ । सिमसारको अत्याधिक उपयोग, भूमि अतिक्रमण, मिचाहा प्रजाति आदिले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको उनले जानकारी दिए ।