लुम्बिनी

‘जर्सी गाई’को दूध विकाउन गाह्रो

लमही । दाङमा जर्सी गाईको दूध विक्री हुन नसकेपछि किसानहरु प्रभावित भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १६ लक्ष्मीपुरका रमेश गिरीले पाँच वटा जर्सी गाई पालेका छन् । तर अहिले दुई वटा गाईले नियमित दूध दिन्छन् । सधै बिहान जर्सीको दूध ल्याएर बजार आउने गिरीलाई दूध विकाउन भने निकै सङ्घर्ष गर्नुपर्छ ।

“बजारमा भैँसीको दूध सहजै किन्छन् तर जर्सी गाईको दूधतिर आँखा पनि लाउँदैनन्”, उनले भने । जर्सी गाईको दूध पहेँलो हुने भएकाले पनि बजारमा नकिन्ने गरेको उनको भनाइ छ । जर्सीको दुधको रङ पहेँलो हुन्छ”, उनले भने, “ त्यही देखेर किन्न मान्दैनन् ।” दुई वटा जर्सी गाईको २० लिटर दूघ विकाउनका लागि धेरै ठाउँठाउँमा घुम्नुपर्ने र सहजै नकिन्ने गरेको उनको भनाइ छ । डेरी उद्योगले पनि राख्न नमान्ने गरेको भन्दै उहाँले धेरै ठाउँमा घुमेपछि मात्रै विकाउने गरेको छ । नविकेर फाल्ने अवस्था त छैन”, उनले भने, “तर डेरीले पनि राख्न मान्दैनन्, त्यही २० लिटर दूध विकाउन बजारबजार घुम्नुपर्ने अवस्था छ ।”

त्यस्तै तुलसीपुर– १६ कै प्रवीण चौधरीले पनि छ वटा जर्सी गाई पाल्नुभएको छ । उनलाई पनि जर्सीको दूध विकाउन निकै सङ्घर्ष गर्नुपर्छ ।” मान्छेले बरु गाईको पिसाब खोज्छन्”, उनले भने, “तर दूध खोज्दैनन् ।” गहुँतका लागि पिसाब खोज्ने गरे पनि तिनै गाईको दूध नखोज्ने गरेको उनको भनाइ छ । योगा गर्ने तथा शिक्षित व्यक्तिले गाईको दूध माग गर्ने गरेको भए पनि अधिकांशलाई चेतना नहुँदा गाईको दूध प्रयोग गर्न नमान्ने गरेको उनको भनाइ छ । शिक्षित व्यक्ति र योगा गर्नेले नियमित जर्सी गाईको दूध मगाउनुहुन्छ”, उनले भने, “तर अधिकांशले गाईको दूध मनपराइदिनुहुन्न ।”

उनले पालेका सात वटा जर्सी गाईमध्ये तीन वटा गाईको करीब २५ लिटर दूध विकाउन पनि निकै समस्या हुने गरेको छ । उनीहरु त केही उदाहरण मात्रै हो । यस्तै धेरै जर्सी गाईपालक किसानलाई आफूले उत्पादन गरेको दूध विकाउन निकै कठिन हुने गरेको छ । पछिल्लो समय दाङमा गाईपालन गर्नेको सङ्ख्या बढे पनि उचित बजारीकरण नहुँदा समस्या हुने गरेको किसानको गुनासो छ । स्थानीय सरकारले उचित भण्डारण केन्द्र तथा बाहिरी जिल्लामा दूध निर्यात गर्ने वातावरण मिलाउनुपर्ने किसानको भनाइ छ ।

बजारमा आवश्यकताभन्दा बढी दूध उत्पादन हुने भएकाले गाईको दूध अलि कम बिक्री हुने गरेको तुलसीपुर उपमहानगर पशु सेवा प्राविधिक सुवास आचार्यले बताए । हिउँदको समयमा बढी दूध उत्पादन गर्ने मौसम हुन्छ”, उनले भने, “त्यसैले पनि बजारमा ग्राहकले भैँसीको दूध रोज्ने गर्छन् तर गर्मी मौसममा भने यो समस्या हट्छ ।” जर्सी गाईको दुध भैँसीको दूधको तुलनामा केही पहेँलो देखिने भएकाले अहिले प्रायः मानिसले भैँसीकै दूध प्रयोग गर्ने गरेको भए पनि दूधको अभाव हुने गर्मी तथा चाडबाडको समयमा भने जर्सीकै दूधको माग पनि धेरै हुने गरेको उनको भनाइ छ ।

अहिले तुलसीपुर बजारका डेरीबाट पाँच हजारदेखि छ हजार लिटरसम्म र घरघरमा गएर चार÷पाँच हजार लिटर दूध खपत हुने गरे पनि दैनिक १६ हजार लिटर दूध उत्पादन हुने गरेको उनको भनाइ छ । तुलसीपुरसहित दङ्गीशरण, शान्तिनगरको दूध पनि तुलसीपुरमा नै आउने गरेको उनको भनाइ छ । तुलसीपुरमा धेरै दूध भित्रिने भए पनि यहाँका डेरी उद्योगमा एक हजार लिटरभन्दा धेरै भण्डरण गर्नसक्ने क्षमता नभएकाले पनि समस्या हुने गरेको उनको भनाइ छ । “तुलसीपुरमा आउने सबै दूधलाई भण्डारण गरेर अन्य कुनै परिकार बनाएर बेच्ने खालको प्रणाली शुरु भएको छैन्”, प्राविधिक आचार्यले भने, “यहाँ दूध मात्रै बेच्ने चलनले गर्दा पनि यस्तो समस्या आएको हो ।”