पर्यटन/संस्कृति

७७ जिल्लामा वैदिक गुरुकुल स्थापना गरिने

नुवाकोट । जिल्लाका धार्मिकस्थललाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ कविलासमा वैदिक गुरुकुल स्थापना गरिने भएको छ । पञ्चकन्या गाउँपालिका–२ कविलासको ब्रह्मक्षेत्रमा वैदिक गुरुकुल तथा प्राकृतिक नियमानुसारको जीवन पद्धति पुनःस्थापनाका लागि स्वमूल्याङ्कन केन्द्र नेपाल स्थापना गर्ने योजनालाई मूर्तरुप दिन आगामी फागुन १३–२१ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको बृहत् ब्रह्मक्षेत्र विकास कार्यक्रम मूल समितिका अध्यक्ष केदारनाथ पाठकले जानकारी दिए।

वैदिक सनातन धर्म संरक्षण समाज र ब्रह्मक्षेत्र विकास कोषको आयोजनामा हुने श्रीमद्भागवत धनधान्याचल विराट् ज्ञान महायज्ञबाट आर्थिक स्रोत जुटाएपछि वैदिक गुरुकुल स्थापना गरिने वैदिक सनातन धर्म संरक्षण समाजका उपाध्यक्ष महेन्द्र ढकालले बताए । कविलास, ब्रह्मक्षेत्रमा विभिन्न ऋषिमुनिले परापूर्वकालमा तपस्या गरेको र स्वयं महादेवसमेत सो क्षेत्रमा ध्यान गर्न आएको तत्कालीन कविलास गाविसका पूर्वजनप्रतिनिधि लेखप्रसाद बोहोराले बताए ।

कविलासमा ब्रह्मक्षेत्र, नाट्येश्वरी, कपिलेश्वर महादेवलगायत चर्चित धार्मिक क्षेत्र छन् । ढकालका अनुसार ७७ वटै जिल्लामा गुरुकुल विस्तार गर्ने योजना अघि सारिएको हो । मुलुकभर हाल सञ्चालनमा रहेका २२५ गुरुकुलका मठमन्दिरको संरक्षण गर्न तथा वैदिक शिक्षा बोर्ड गठन गर्न समितिले सरकारसँग माग पनि गरेको छ । सनातन वैदिक परम्पराको मौलिक स्वरुप नेपालको गुरुकुलीय शिक्षा पद्धतिलाई जीवन्त बनाउने प्रयासको नुवाकोटमा थालनी भएको पं होमनाथ अधिकारीले बताए ।