बाग्मती

घोषणापत्र जारी गर्दै पत्रकार महिलाको सम्मेलन सम्पन्न

चितवन । पर्यटकीय नगरी पटिहानीमा जारी पत्रकार महिलाको राष्ट्रिय सम्मेलन १३ बुँदे पटिहानी चितवन घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । पटिहानीमा १६ र १७ गते दुई दिन चलेको सम्मेलनमा २०० बढी पत्रकार महिला सहभागी थिए । बन्दसत्रमा सहभागीले उठाएका मुद्दालाई समावेश गर्दै जारी गरिएको घोषणापत्रमा सरकारी सञ्चारमाध्यम, आयोग, समिति, सल्लाहकार, बोर्ड र कर्मचारी नियुक्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितताको तत्काल कार्यान्वयनका लागि माग गरिएको छ ।

आधारभूत र बिषयगत तालीमको ब्यबस्था मिलाउन माग गर्दै सम्मेलनले भौतिक र पेशागत सूरक्षाको सुनिश्चितताका लागि पेशागत स्थायित्वको उचित वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । श्रम ऐनले व्यवस्था गरेका सुविधा उपलब्ध हुन नसककेको निष्कर्ष निकाल्दै सम्मेलनले हरेक सञ्चारमाध्यममा आन्तरिक लैङ्गिक नीति अनिवार्य रूपमा बनाई कार्यान्वयन गर्न सुझाएको छ ।

नीतिगत र नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित भइनसकेको ठहर गर्दै सम्मेलनले महासङ्घको विधानमा प्रत्यक्ष निर्वाचन प्रणाली अङ्गिकार गरी अध्यक्ष वा महासचिव एक महिला हुनुपर्नै अनिवार्य व्यवस्था गर्न नेतृत्वको ध्यानाकर्षण गराइएको छ । अधिकांश सञ्चारमाध्यमले पत्रकार नियुक्ति र पदोन्नति गर्दा समावेशी नीति अपनाएको नपाइएको भन्दै त्यो अवस्था तत्काल सुधार्न सञ्चालकलाई आह्वान गरिएको छ ।

देशभरबाट आएका सहभागीले पत्रकार महिलाका विशेष अवस्थालाई मध्यनजर गर्दै हरेक सञ्चारमाध्यममा शिशु स्याहार केन्द्रको अनिवार्य व्यवस्था गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराएको छ । सरकारले व्यवस्था गरेको सुत्केरी बिदालाई पाँच महीना पु¥याउने गरी नीतिगत निर्णय गर्नुपर्ने माग गर्दै सो विषयमा ठोस निर्णय नहुँदासम्म हाल रहेको व्यवस्थालाई कार्यान्वयन गर्न पनि माग गरिएको छ । सुत्केरी बिदा बसेकै कारण कतिपय पत्रकार महिलाको पदोन्नति रोकिएको सुनिनमा आएकाले अब आयन्दा पदोन्नतिमा बाधा अवरोध नपु¥याउन अनुरोध गरिएको छ । घोषणापत्रको नौ नं बुँदामा नेपाल पत्रकार महासङ्घले घोषणा गरेको राष्ट्रियस्तरको आम सञ्चार प्रतिष्ठान चितवनमा निर्माणका लागि तुरुन्त पहल गर्न आग्रह गरिएको छ ।

नेपाल सरकारले पहिचान गरेको नयाँ पर्यटकीय गन्तव्यमा पश्चिम चितवनको पटिहानीसमेत परेकामा स्वागत गर्दै पटिहानीलगायत पश्चिम चितवनको पर्यापर्यटनलाई लैङ्गिकमैत्री बनाउँदै विकासका लागि थप योजना ल्याउन भेलाले नेपाल सरकारसँग माग गरेको छ ।घोषणापत्र निर्माणका लागि दुर्गा कार्कीको संयोजकत्वमा गठित मस्यौदा समितिमा राधेश्याम खतिवडा, सुचित्रा श्रेष्ठ, शान्ता अधिकारी, गङ्गा पौडेल बराल, कमला पन्थी, रिङ्कु मिश्र, विमला भण्डारी र सञ्चिता घिमिरे सदस्य रहेका थिए । सम्मेलनको बिहीबार एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए ।