पर्यटन/संस्कृति

धार्मिक पर्यटक भित्र्याउन पूर्वाधार निर्माण

गलकोट । वार्षिक एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अहिले धमाधम पञ्चकोटको पूर्वाधार निर्माण भइरहेको छ । बागलुङ जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थलका रुपमा विकास भइसकेको पञ्चकोटमा अहिले दैनिक सयौँ पर्यटक आउने गरेका छन् । पञ्चकोटलाई पूर्णता दिन भने अझै केही वर्ष लाग्नेछ । पञ्चकोटमा साना संरचना निर्माण भइसके पनि ठूला संरचनाका लागि सहयोग सङ्कलन गर्ने अभियानलाई तीव्रता दिइएको छ । पञ्चकोटको विकासका लागि वार्षिक रूपमा महायज्ञसमेत आयोजना हुँदै आएको छ ।

स्वामी कमल नयनाचार्य ९मुक्तिनाथ बाबा०को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि आर्थिक सङ्कलन गर्न पाँचौ महायज्ञ हुन लागिरहेको विश्व शान्ति सर्वसिद्धि धाम पञ्चकोटले जनाएको छ । १०८ फिट अग्लो विश्व शान्ति कलश तथा अन्य धार्मिक पूर्वाधार निर्माणका लागि २०७१ फागनु ९ गते तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइराला र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । शिलान्याश भएको फागुन ९ गते प्रत्येक वर्ष पञ्चकोटमा महायज्ञ आयोजनाको शुरु हुने गरेको छ । यही फागुन ९ गतेदेखि १५ गतेसम्म पाँचौ धनधान्याञ्चल विराट महायज्ञ सञ्चालन हुने जनाइएको छ । महायज्ञभर भूमिपुजन, श्रीमद्भागवत पाठ पारायण, प्रवचन लगायतका कार्य हुनेछन् ।

दक्षिण भारतीय शैलीमा निर्माण भएका मन्दिर र पूर्वाधारले पञ्चकोटमा दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका छन् । बागलुङ बजारदेखि छ किलोमिटर पश्चिममा निर्माणाधीन पञ्चकोट बागलुङ भित्रने पर्यटकको प्रमुख गन्तव्यको रुपमा विकास हुन थालेको छ । तीन वर्षदेखि निर्माणाधीन पञ्चकोटमा झन्डै रु २० करोडको संरचना निर्माण भइसकेका छन् भने मुख्य संरचनाका रुपमा निर्माण हुने विश्व शान्ति कलशको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । “विश्व शान्ति कलश निर्माणलगायत अन्य संरचना निर्माणका लागि पाँचौँ महायज्ञ गर्न थालेका छौँ”, अध्यक्ष प्रपन्नाचार्यले भने, “सहयोगी दाताले महायज्ञमा प्रदान गर्ने रकमका आधारमा संस्थापक सदस्यता प्रदान गर्छौँ ।”

महायज्ञमा सङ्कलित रकम तथा दाताकैै भरमा अर्बौंको संरचना निर्माण भइरहेकोे पञ्चकोट पुग्ने जो कोही पर्यटक मोहित हुने गरेका छन् । बागलुङ नगरपालिकाभित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर पञ्चकोटको नामाकरण गरिएको यस क्षेत्रमा संसारकै अग्लो विश्व शान्ति कलश निर्माण गरिने लक्ष्य रहेको छ । कलश निर्माणका लागि मात्र रु ६० करोड खर्च हुने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ । पञ्चकोटमा सबै पकारका पूर्वाधार निर्माण सम्पन्न भएपछि वार्षिक एक लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

पञ्चकोटलाई हिन्दू र बौद्ध धर्मको मुख्य गन्तव्य बनाउने लक्ष्य राखिएको छ । अग्लो कलश राखिने स्थान बागलुङ नगरपालिका–६ स्थित पञ्चकोट साविक धौलागिरिका अधिकांश स्थानबाट समेत देख्न सकिन्छ । यहाँका सबै पूर्वाधार निर्माणका लागि झन्डै साढे २ अर्ब खर्च हुने अनुमान छ । हालसम्म गरुडशिला, गण्डकी माताको मन्दिर, शिशमहल, गणेश मन्दिर, पवनपुत्र हुनमानको ठूलो मूर्ति, सिंहगुफा, ध्यानकुटी, गौशालालगायतका संरचना निर्माण सम्पन्न भइसकेको सर्वसिद्धिधाम पञ्चकोटले जनाएको छ । कलशसँगै पाँच हजार ५५५ केजीको महाघण्टा, ध्यान केन्द्र, योगशाला, अतिथि आवासलगायतका संरचना निर्माणका लागि सहयोग जुटाउन महायज्ञको आयोजना गरिएको नयनाचार्यले बताए । यहाँ चार वर्षदेखि नियमित महायज्ञ भइरहेको र महायज्ञबाट सङ्कलित रकमले पूर्वाधार निर्माण गरिरहेको समितिका सदस्य नगेन्द्रराज शर्माले बताए । समुन्द्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धौलागिरि, नीलगिरिलगायतका दर्जन बढी हिमशृङ्खलाहरु देख्न सकिन्छ । सर्वसिद्धिधाम पञ्चकोटका हालसम्म तीन हजार संस्थापक सदस्य रहेका छन् ।