कृषि

गाईपालनबाटै निरन्तरको आम्दानीका साथै परिवारको जीवनयापन राम्रो

वासुदेव पौडेल/पोखरा । झट्ट सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका–३३ भरतपोखरी बाघमाराका ठाकुर आचार्यले घरबारीमा लगाएको तरकारी खान आउने छाडा गाई समातेर गाईपालन शुरु गरेका छन् ।

झण्डै दुई वर्षदेखि पटकपटक बारीको तरकारी खाइदिएर हैरान पारेको बेवारिसे गाई २०६६ चैतमा समातेर बाँधेका आचार्यको गोठमा अहिले भने ५४ छन् । गोठमा गाईका साथै एक भैँसी, तीन पाडा, एक बहर र एक राँगो पनि छन् ।

बेवारिसे गाई समातेको छ महीनामा नै ब्याएपछि उत्साहित बनेका आचार्यको गोठमा त्यस यता वर्षेनी गाईको सङ्ख्या बढ्दै गयो, अन्ततः उनलाई अनुकरणीय व्यवसायी पनि बनायो । गोठ हुँदै फार्ममा परिणत उनको फार्ममा अधिकतम ७० वटासम्म गाई भएको आचार्यले अनुभव सुनाए । “छोडुवा गाई ब्याएसँगै त्यसले बिहान बेलुका गरी आठ लिटरसम्म दूध दिन्थ्यो”, अनुभव सुनाउँदै उनले भने ।

तत्कालीन समयमा स्थानीयवासीको सक्रियतामा सञ्चालित कालिकास्थान कृषि सहकारी संस्थामार्फत दूध बिक्री गर्न थालेको उनले जानकारी दिए । सो सहकारीमा आबद्ध भई लामो समय विभिन्न अनुभव र भोगाइ सङ्गालेका आचार्य अहिले उक्त संस्थाको अध्यक्षसमेत हुन् ।

२०६७ सालमा सहकारीबाटै रु ५० हजार ऋण र आफूले रु १२ हजार थपी बागमाराबाटै अर्को गाई थपेका उनको आचार्य गाई फार्ममा अहिलेसम्म झण्डै रु डेढ करोड लगानी भइसकेको छ । पैसा कमाउने इच्छासँगै १४ वर्षे कलिलै उमेरमा भारतको केरलामा पुगेका आचार्य झण्डै १४ वर्ष विदेशमै बिताए । विदेशको बसाईले उहाँलाई स्वदेशमा नै केही गनुपर्छ भन्ने पाठ मात्र सिएकाएन अन्यका लागि पनि अनुकरणीय बनायो ।

“विदेशमा गर्ने दुःख यहीँ ग¥यो भने जीविकोपार्जनसँगै मनग्य आम्दानी पनि गर्न सकिँदो रहेछ”, उनले थने, “घरमै बसेर अरूलाई पनि रोजगारी दिन पाउनु सन्तोषको विषय पनि हो ।” उनको फार्म पाँच रोपनी जग्गामा छ भने घाँसका लागि ७५ रोपनी जग्गा भाडामा लिएका छन् । फार्मबाट दैनिक २६० लिटर दूधका साथै तरकारी पनि बिक्री हुने गरेको छ । दूध प्रतिलिटर रु ६० मा बिक्री हुन्छ । फार्ममा पालिएका राँगो तथा बहर पनि उनको आम्दानीको स्रोत हो । राँगो तथा बहरबाट प्रति प्रजनन रु एक/एक हजार लिने गरेको उनले जानकारी दिए । गाईपालनमा समस्या नआओस् भन्दै उनी प्रत्येक गाईको रु एक/एक लाखका दरले पशु बीमासमेत गरेका छन् ।

बागमारा आसपासका अन्य कृषकका लागि आचार्यले नर्सरीमा तरकारीका बिरुवा उत्पादन गर्दै वर्षेनी रु दुई लाखका बिरुवा बेच्ने गरेको जानकारी दिए । व्यवसायका लागि परिवारको समेत साथ र सहयोग आवश्यक पर्ने बताउने आचार्यलाई उहाँकी श्रीमती गङ्गाले निरन्तर सहयोग गर्दै आएका छन् ।

व्यावसायिक गाईपालनबाटै निरन्तरको आम्दानीका साथै परिवारको जीवनयापन राम्रोसँग सञ्चालन गरेका आचार्यका छोरा शिव लम्जुङस्थित कृषि क्याम्पसबाट बिएससी एनिमल साइन्स उत्तीर्ण गरिसक्नुभएको छ भने छोरी पूजा व्यवस्थापनमा स्नातक पढ्दै छन् ।

उनको फार्ममा यतिखेर छ जनाले प्रत्यक्ष अप्रत्यक्ष गरी १० जनाले रोजगारी पाएका छन् । व्यावसायिक कृषिमा राम्रो सम्भावना रहेको बताउँदै उनले देशमा नै स्वरोजगार सिर्जना गर्न युवालाई यसतर्फ आकर्षण गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।

व्यावसायिक कृषिका लागि अत्यावश्यक पानी, उत्पादित वस्तुको लागि बजार व्यवस्थापनजस्ता कुरामा राज्यको सहयोग अपरिहार्य भएको बताउँदै उनले सरकारबाट वितरण गरिने अनुदान सहयोग वास्तविक कृषकले पाउनुपर्नेमा जोड दिए ।