कर्णाली प्रदेश

मनग्य आम्दानी हुने भएपछि बाख्रापालन व्यवसाय फस्टाउँदै

जाजरकोट । पछिल्लो समय जाजरकोटमा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि यहाँका किसान यो व्यवसायमा अग्रसर भएका छन् ।

बारेकोट गाउँपालिका ८, लैखमका रणबहादुर खत्रीको घरमा १०० भेडाबाख्रा छन् । खत्रीको वार्षिक दुई लाख आम्दानी हुन्छ । घरमा ५० भेडा, ५० बाख्रा छन् । वर्षमा २५ देखि ३० वटा खसीबोका र माउँभेडाबाख्रा, सानापाठापाठी पनि बिक्री हुने गरेको खत्रीले बताए । “रोजगारीका लागि धेरै पटक भारतको कालापाड गइयो तर त्यसबाट घरव्यवहार चलाउन सहज देखिएन । घरमै भेडाबाख्रा पाल्नु प¥यो भनेर लागेको छु,” खत्रीले भने ।

लगानी धेरै लगाउनु नपर्ने, थोरै लगानीबाट व्यवसाय गर्न सकिने भएको हुँदा यो व्यवसाय थालेको खत्रीको भनाइ छ । परीश्रम गरे आफ्नै बारीमा सुन फलाउन सकिन्छ खत्रीले भने । खत्रीको घरमा १५ जनाको परिवार छ । त्यस्तै गरी नलगाड नगरपालिका–५, भण्डारीगाउँका शान्तबहादुर खत्री गाउँकै अब्बल बाख्रापालक कृषक हुन् । खत्रीको घरमा ९० बढी बाख्रा छन् । वर्षमा एक लाख ६० हजार आम्दानी हुन्छ ।

यसबाट घर व्यवहार चलाउन र छोरालाई पढाउन लेखाउन सहज भएको खत्रीले बताए । खत्रीले एक वर्षअघि उच्च मूल्य वस्तु विकास आयोजना सुर्खेतको आर्थिक सहयोग तथा नागरिक कृषि तथा पशुपालन सहकारी संस्था लहँको समन्वयमा खोर निर्माणसँगै एक वटा उन्नत जातको बोयर जातको बोका पाए । यो सहयोग मिले पनि बाख्रापालन व्यवसाय गर्न थप ऊर्जा मिलेको खत्रीले बताए । खत्रीको घरमा बाख्रा हेर्न आउनेहरुको भीड लाग्ने गरेको छ ।

यी दुई त जिल्लाको एक प्रतिनिधि पात्र मात्र हुन् । जाजरकोटको सात वटै स्थानीय तहमा भेडाबाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । बाख्राका लागि चरण क्षेत्रको राम्रो सम्भावना रहेका कारण यो व्यवसाय छिटो फस्टाउँदै गएको हो । अन्य व्यवसायभन्दा यसबाट राम्रो फाइदा पुग्ने भएपछि किसान यस व्यवसायतर्फ आकर्षित भएका बारेकोट गाउँपालिकाका पशु प्राविधिक गोविन्द सिंहले बताए ।

गर्मी समयमा भेडा–बाख्रा चरिचरनका लागि उच्च लेक तथा बुकी पाटनमा लिने गरिन्छ, भने जाडो समयमा औल तथा बेसीतर्फ झारिने गरिने सिंहको भनाइ छ । बारेकोट गाउँपालिकाभित्रमा करीब १० हजार भेडाबाख्रा रहेको सिंहले बताए । जाजरकोमा एक लाख बढी भेडाबाखा रहेको सिंहले बताए । यहाँका खसीबोका पोखरा, काठमाडौँ, बाँके, बर्दिया, सुर्खेत, जुम्ला, डोल्पालगायत जिल्लामा निर्यात हुने गरेका छन् । जिल्लाभित्र र जिल्लाबाहिर मासुका लागि खसी, बोकाको माग अत्यधिक खपत हुने भएपछि जिल्लाका किसानले बाख्रापालन व्यवसाय बढाउँदै लगेका छन् ।

यहाँका प्रतिकिसानले बाख्रापालन व्यवसायबाट वर्षमा एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । यो व्यवसायमा लगानी गरेपछि चाँडै आम्दानी दिने भएपछि किसान यो व्यवसायमा आक्रोशित भएका हन् । भेडा–बाख्राको ऊनबाट राडिपाखी, काम्लो, फेरे लगायतका मूल्यवान् वस्तु तयार हुने र यसबाट पनि आम्दानी हुन्छ । कतिपय किसानले व्यावसायिक रुपमा भेडा–बाख्रापालन फार्म नै खोलेका छन् ।

स्थानीय तहबाट पनि बाख्रापालक किसानलाई लगानी गर्ने गरेका छन् । ४० हजार भेडा–बाख्रापालक किसान रहेका छन् । जिल्लामा मासुका लागि वार्षिक ६ हजार, खसीबोकाबाट सात करोड, जिल्लाबाहिर १४ हजार खसीबोकाबाट १४ करोड, पूजाआजामा ६०० खसीबोकाबाट ३० लाख, ३०० बोका व्यापारका लागि बिक्रीबाट सात लाख र एक हजार ६०० माउ बाख्रा बिक्रीबाट १२ करोड वितरण भई वार्षिक रु ३३ करोड ३७ लाख आम्दानी हुने गरेको पशु प्राविधिकले जनाएको छ ।