समाचार

फोहर सङ्कलन गर्ने निकायबीच समन्वयको अभाव

काठमाडौँ । दैनिक सयौँ मेट्रिक टन फोहर उत्सर्जन हुने काठमाडौँमा फोहर सङ्कलन गर्ने सरकारी तथा निजी क्षेत्रका निकायबीच समन्वयको अभाव देखिएको छ ।

उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा स्थनीय तह र निजी कम्पनीले दैनिक आ–आफ्नै तरिकाले फोहर सङ्कलन तथा व्यवस्थापन गरिरहेका छन् । ती निकायबीच एकापसमा कुनै समन्वय भने हुँदैन । निजी कम्पनीले घरघरबाट र स्थानीय तहले सडकमा थुपारिएका तथा सार्वजनिकस्थल र केही पुराना बस्तीका फोहर सङ्कलन गर्ने गरेका छन् । दुवै निकायले सङ्कलित फोहर आ–आफ्नै टिपरमार्फत नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन गर्दै आएका छन् ।

उपत्यकामा दुई महानगरपालिका, १६ नगरपालिका र तीन गाउँपालिका छन् । त्यसमध्ये १८ स्थानीय तहको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । उपत्यकामा फोहर सङ्कलन गर्ने ४६ निजी कम्पनी छन् । निजी कम्पनीमा सफाइ मजदूर, चालक र अन्य प्रशासनिक गरी दुई हजार ६०० कर्मचारी कार्यरत रहेको फोहरमैला व्यवस्थापन सङ्घ नेपालका अध्यक्ष वासु उप्रेतीले जानकारी दिए। त्यसमध्ये ८० भारतीय मजदूरसमेत छन् ।

स्थानीय सरकारसँग कुनै सम्झौता नभई मौखिक कुरा गरेकै आधारमा त्यस्ता कम्पनीले काम गर्दै आएका छन् । कम्पनीको अनुगमन र नियमनसमेत हुँदैन । अध्यक्ष उप्रेतीले भने, “हामीले उपत्यकाका झण्डै ८० हजार घरबाट दैनिक ६५० मेट्रिक टन फोहर सङ्कलन गर्दै आएका छौँ ।” ती कम्पनीले फोहर सङ्कलन गरेबापत प्रति घरबाट न्यूनतम रु ३५० शुल्क लिने गरेका छन् । ठूला उद्योग र होटलबाट लिने शुल्क भने कैयौँ गुणा बढी छ ।