बाग्मती

काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरको मौसम आज बदली भएको छ ।  पश्चिमी वायुको प्रभावले देशभरि नै मौसम बदली भएको मौसमविद् शान्ति कँडेलले बताए । अबको एक दुई दिन देशभरिकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको उनले बताए ।

उपत्यकाको आजको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो ।

राति आकाशमा बादल लागेकाले पृथ्वीबाट बाहिरिने तापक्रमलाई बादलले रोक्ने भएकाले न्यूनतम तापक्रम नघटेको मौसामविद् कँडेलले बताए । उनका अनुसार राति आकाश खुला भए तापक्रम घट्ने छ । “माघ महीना भर्खर शुरु भएकाले अझै तापक्रम घट्ने सम्भावना छ ”, उनले भने ।

देशको मध्य तथा पश्चिमी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । राति देशभरि नै बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । साथै उच्च हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार देशको पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । त्यस्तेै शनिबार उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।