बाग्मती

स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धामा ४५२ सुझाव प्राप्त

काठमाडौँ । पहिलो पटक शुरु गरिएको ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’का लागि अहिलेसम्म ४५२ सुझाव सङ्कलन भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो चरणका लागि ३२ दिनको समयावधि निर्धारण गरी गत मङ्सिर २६ गतेदेखि शुरु गरेका प्रतिस्पर्धामा हालसम्ममा ४५२ सुझाव प्राप्त भएको हो ।

प्रतिस्पर्धाका लागि चार वटा विधा निर्धारण गरिएको र उक्त विषयमा नै सम्बन्धित रहेको सुझाव सङ्कलन भएको कामपाको शहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले जानकारी दिए । प्रतिस्पर्धाका लागि समुदाय तथा वातावरण, शहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरको सार्वजनिक प्रशासन तथा व्यवस्थापन विषय समेटिएका छन् ।

उहाँका अनुसार काठमाडौँको समस्या पहिचान गरी निराकरण, नवीन र प्रविधिमैत्री उपायको खोजी गर्न कामपाले ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा, २०७५’ शुरु गरेको हो । कामपाले प्रतिस्पर्धाका लागि इमेल ठेगानामा लगअन गरी फाराम भर्न खुला गरेको थियो । सचिव बस्नेतका अनुसार छनोट गरिएका सबै विषयमा सुझाव सङ्कलनको पहिलो चरणको समय सकिएको छ ।

पहिलो चरणमा आएका सुझावबाट विषयगतअनुसार उत्कृष्ट ठहर भएका मध्येबाट विषयगत २५÷२५ वटा सुझावसहित १०० वटा सुझाव समावेश गरिनेछ । प्रतिस्पर्धालाई विभिन्न छ चरणमा विभाजन गरी सम्पन्न गर्ने आयोजकको तयारी छ । सबै चरण समापन गर्न करीब छ महीनाको समय निर्धारण गरिएको पनि कामपाले जनाएको छ ।

आगामी हप्ता ४५२ विषयअनुसार कुन कुन सुझाव राखिने भन्नेबारे यकिन हुने सचिव बस्नेतलले बताए । पहिलो चरणको सुझावको टुङ्ग्याउने र दोस्रो चरणको सुझाव सङ्कलनको काम थालिने बताइएको छ ।

नवीन सोचसहित विषयको आधारमा उत्कृष्ट ठहरिएका व्यक्ति वा संस्थालाई अन्तिम चरणमा पुरस्कारको व्यवस्थासमेत गरिएको छ । प्रतिस्पर्धामा भाग लिन नेपाली नागरिकले विश्वको जुनसुकै स्थानमा रहेर पनि यसको फाराम भर्न सक्नेछ । सङ्कलन भएका सुझावबाट काठमाडौँको समस्या समाधान गर्न ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ ।