समाचार

बस दुर्घटनामा चारको मृत्यु, ३४ घाइते

गलकोट । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी चार जनाको मृत्युु भएको छ भने ३४ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ लगिएको छ भने थप तीन जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतक तथा घाइतेको विवरण सङ्कलनको कार्य भइरहेको छ । दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन ।