पत्रपत्रिका

वाइडबडी भ्रष्टाचारमा प्रधानमन्त्री ओली र सभापति देउवाको मिलेमतो छः डा. भट्टराई

काठमाण्डौ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल कांग्रेसका मुख्य नेताहरु नै संलग्न रहेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सो प्रकरणलाई ढाकछोप गर्ने सहमति भएको दावी समेत गरे । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसदीय समितिले सो विमान खरिदमा ठूलो आर्थिक घोटाला भएको विवरण बाहिर ल्याएपछि प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्ष दलका नेता देउवाबीच सो प्रकरणलाई ढाकछोप गर्ने सहमति भएको बताए ।

नयाँ शक्ति पार्टी, नेपालले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई कार्वाहीको दायरामा ल्याउन सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने घोषणा गरेको छ । संयोजक भट्टराईले सो काण्डमा मुछिएकाहरुलाई कार्वाही गर्न आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने पनि बताए ।
नयाँपत्रिकाका अनुसार, वाइडबडी विमान खरिदमा करिब ४ अर्ब ३५ करोडको भ्रष्टाचार भएको ठहर संघीय संसदको सार्वजनिक लेखा समितिले गरेको थियो । संयोजक भट्टराईले सो काण्डमा भएको भ्रष्टाचार विरुद्धको आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गरे ।