बाग्मती

केटी बेचुवा कृष्णबहादुरलाई अदालतद्वारा २० बर्ष जेलको फैसला

नुवाकोट । युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै एक जनालाई अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको छ ।

दुप्चेश्वर गाउँपालिका–३ राउतबेंसीका २८ वर्षीय कृष्णबहादुर तामाङलाई न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलासले दोषी ठहर गर्दै सो फैसला गरेको हो । अठार वर्षीया युवतीलाई अभियुक्त तामाङले चार वर्षअघि भारत लगेर बिक्री गरेको प्रहरीले जनाएको छ । विसं २०७१ कात्तिक १९ गते हराएकी युवतीका परिवारले जिल्ला प्रहरी कार्यालयमा आरोपी तामाङविरुद्ध उजुरी दिएका थिए ।
फरार रहेका आरोपी तामाङलाई काठमाडौँबाट २०७३ मङ्सिर १७ गते गिरफ्तार गरी नुवाकोट ल्याएर अनुसन्धान प्रहरीले थालेको थियो । पीडित युवतीलाई भारतीय प्रहरीले उद्धार गरी विसं २०७३ मा नेपाल फर्काएको प्रहरीले जनाएको छ ।