राजनीति

गरीबी र बेरोजगारीको चक्रब्यूहलाई अन्त्य गर्न सरकार सफल हुनेछः वरिष्ठ नेता नेपाल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अशान्ति र अस्थिरताको युगको अन्त्य भएको बताएका छन् । भक्तपुरबाट प्रकाशित हुने समय समाज साप्ताहिकको आज आयोजित १४ औँ वर्ष प्रवेश कार्यक्रममा उनले अब देशमा शान्ति र स्थिरता स्थापना भइसकेको बताए ।

दुई तिहाइको वर्तमान सरकार र नेकपाबाट जनताले विकास र समृद्धिको ठूलो आशा राखेको बताउँदै उनले सरकारले अघि सारेको समृद्ध मुलुक र सुखी नेपालीको मिसनलाई पूरा गर्नुपर्ने बताए। वरिष्ठ नेता नेपालले देशको गरीबी र बेरोजगारीको चक्रब्यूहलाई अन्त्य गर्न सरकार सफल हुने बताउँदै सीप, उद्यमशीलता र प्राविधिक शिक्षालाई गाउँगाउँमा पु¥याउनुपर्नेमा जोड दिए ।

सांसद महेश बस्नेतले पत्रकारिता क्षेत्रले सही समाचार सम्प्रेषण गर्न नसक्दा डा गोविन्द केसीको माग, वाइड बडीजस्ता कुरामा गलत सन्देश जाँदा समाजमा नकारात्मक छाप बसेको धारणा व्यक्त गरे । भक्तपुरको विकासमा अहिले पहिलाको भन्दा तीन गुणा बढी बजेट ल्याएर विकास निर्माणको काम तीव्र गतिमा भइरहेको बताउँदै उनले मिडियाले पूर्वाग्राही रुपमा गलत मिसन बनाएर जान नहुने धारणा राखे ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष दिलीप थापामगरले समाचार लेखेकै भरमा पत्रकारलाई जेल हाल्ने कानून खारेज गर्नुपर्ने बताए। समय समाज प्रकाशन प्रालिका अध्यक्ष बालमुकुन्द सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रालिका सञ्चालक रामशरण देउजा, राजुराम मुनकर्मी, पत्रिकाका सम्पादक सोम शर्मा(बजगाई)ले समाजको यथार्थ चित्रण गर्दै यो पत्रिकाले सत्य र तथ्यमा आधारित रहेर पत्रकारिता अगाडि बढाएको बताए ।

कार्यक्रममा गोरखापत्र दैनिकका संवाददाता नगेन्द्र सापकोटालाई रु पाँच हजारसहितको क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । भक्तपुरमा रहेर निरन्तर पत्रकारिता गर्ने ३० वर्ष नाघेका दबाब साप्ताहिकका सम्पादक अमर भुजु, नेपाल न्यूज साप्ताहिक र प्रक्षेपण दैनिकका सम्पादक विकल श्रेष्ठ र धरहरा टाइम्स साप्ताहिकका सम्पादक रमेश खड्कालाई दीर्घसेवा पदक प्रदान गरी सम्मान गरिएको थियो ।