साहित्य

लुरे डाक्टर हल्ली खल्ली गर्दैछ रे !

-डा. सुरेन्द्र सिटौला                                                                                                                                  -कविता

****************************

म निक्कै ठुलो हल्ला सुन्दैछु ।
बिशाल भु मण्डलको,
सुन्दर फुलबारीमय,
एउटा सानो देशमा,
सत्याग्रही एउटा बुढो डाक्टर,
एक्लै,
आडम्बरी सत्तालाई,
सत्यको पाठ पढाउन खोज्दैछ रे ।
कस्तो हट्ठि हो त्यो डाक्टर !
सत्ताले सत्यबोध नगरे,
उ आफैं,
आफ्नै मृत्यु रोज्दैछ रे ।

अर्को हल्ला पनि सुनिदै छ ।
दूर दराज गाउ घरका,
मान्छेहरु भन्छन,
उ त,
असंख्य गरीब नेपालीहरुको,
मृत्यु जित्न खोज्दैछ रे ।
कस्तो अचम्म !
एउटा बुढो लुरे डाक्टर,
मृत्युलाइ पैतालामा कुल्चिएर,
करोडौ निमुखा हरुको,
भरोसामा ज्युन खोज्दैछ रे ।
पागल जस्तो कस्तो डाक्टर !
डाक्टरी पेशाले अर्जेको,
कुस्त पैसामा रमाउन बिर्सेर,
लाखौ गरीबहरुको हासोमा,
उ पनि संग संगै,
हास्न खोज्दैछ रे ।

लाटो डाक्टर !
पीडा बेचेर नाफा कमाउने,
आसुका ब्यापारीहरु संग,
मानबताको सर्तमा,
माग पुरा गर भन्दैछ रे ।
माग पुरा नभए,
कसै सङ केहि गुनासो नगरी,
जीबनका अन्तिम दिनहरु,
उ आफै एक्लै गन्दैछ रे ।

सत्यलाइ बचाउन,
सोकरेट्सले बिषपान गरे झै,
गरीब र निमुखाहरुको खुसी बचाउन,
उ पनि,
मृत्यु बरण गर्न खोज्दैछ रे ।
मार्सी चामलको तागत संग
लुरे डाक्टरको एक्लो भिष्म निष्ठा
एक्लै भिड्न खोज्दै छरे ।
वाहा रे ! वाहा !
हिमाल मुनिको सुन्दर पहाडी बस्तीमा ,
एउटा बुढो लुरे डाक्टर !
निक्कै हल्ली खल्ली गर्दैछ रे ।