पर्यटन/संस्कृति

झिसमिसेमै उठेर नदी, जलाशयमा गई पानीले नुहाउने….

भीमदत्तनगर । ‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा
खुशीयाली छ दाङ्गमा, खुशीयाली कञ्चनपुरमा
हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’

थारु कला, संस्कृतिलाई समेटेर गुञ्जिएको गीत झै यतिबेला सुदूरपश्चिम प्रदेशमा थारु समुदायको बसोबास रहेको कञ्चनपुर र कैलालीका बस्तीमा माघी पर्वको रौनक छाएको छ ।

वर्ष दिनमा थारु समुदायले सबैभन्दा विशेष रुपमा मनाइने माघीका अवसरमा यहाँका विभिन्न मेला महोत्वसदेखि थारु बस्तीमा परम्परागत नृत्यले उत्साह थपिएको छ । यतिबेला थारु समुदायका गाउँबस्तीमा बालबालिकादेखि पाका पुस्तासम्म माघीकै रौनकमा रमेका छन् ।

माघ १ गतेदेखि शुरु हुने सप्ताहव्यापी योे पर्वमा थारु समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कुटानी–पिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेका छन् ।

‘के बुढा के तन्नेरी सब एकै ठाउँ भेला,

‘वर्ष दिनको पसिनालाई माघ १ मा सुकाएर, मिठो खाने राम्रो लाउने, रहर फुकाएर, बल्ल आयो वर्ष दिनमा यति राम्रो चाड, हाम्रो घर निकाखेर बटुलीमा माड, कटौरीमा मासु अनि बटुकीमा जाड,

बल्ल आयो वर्ष दिनमा यति राम्रो चाड, आफू पनि खाइदे साथी अरूलाई नी बाँड, आज छैन कहीँ चिसो चुलो धुवाँ उठ्यो धुर धुरमा, हरसाल आउँछ माघी, माघी जान्छ आफ्नै सुरुमा………

माघीमा यसरी संस्कृतिको संरक्षण गर्दै आएका थारु समुदायले माघी पर्वका अवसरमा छोराछोरीको विहे, अंशबण्डा र खेतीपातिको वार्षिक योजना निर्माणसमेत गर्ने अवसरका रुपमा लिने प्रचलन रहेको शुक्लाफाँटा नगरपालिका–१ का रामबहादुर चौधरीको भनाइ छ ।

थारु समुदायले माघी पर्वका अवसरमा विशेषतः ढिक्री, तरुल, सखरखण्ड र फर्सी उसिनेर खाने गर्छन् । माघीको अघिल्लो रात सुङ्गुर काटी मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भन्ने प्रचलन रहेको थारु अगुवाको भनाइ छ ।

त्यस रात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसेर ‘मघौटा’ नृत्यमा रमाउने गर्दछ । माघीको दिन (माघ १ गते मंगलबार) झिसमिसेमै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सिक्का लुटाउने प्रचलन रहेको छ ।

पिपलाडी, बेलौरी, जोनापुर, वाणीलगायत क्षेत्रमा रहेका थारु बस्ती परम्परागत नृत्यमा समेत रमाइरहेका छन् । पिपलाडीका सुरेश चौधरीले माघीका अवसरमा गाउँमा नाचगानसमेत गरिएको बताए ।

‘माघीमा नाचिने नृत्यको आफ्नै महत्व हुन्छ’ उनले भने, “परम्परागत रुपमा मनाइँदै आएको यो पर्वमा युवा पुस्ता पनि आकर्षित छ ।’ माघीका अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अञ्जानवश गरिएको पाप नाश हुने धार्मिक मान्यतासमेत रहेको छ । माघीमा मनोरञ्जनका लागि घरमै रक्सी उत्पादन गरेर खाने गर्दछन् ।

माघीका अवसरमा थारु कल्याणकारणी सभाले कञ्चनपुरको बेलौरीमा तीनदिने माघी महोत्सव गरिसकेको छ भने भीमदत्तनगरमा पनि आज माघीलाई नै लक्षित गरी संस्कृति प्रस्तुतीसहितको महोत्सव आयोजना गरेको छ ।

त्यसका साथै यहाँका विभिन्न स्थानीय तहले पनि थारु बस्तीमा पुगेर शुभकामना आदानप्रदान गर्दै आएका छन् । त्यसैगरी अन्य समुदायले पनि परम्परागत रुपमा माघी पर्व मनाइरहेका छन् । माघीका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।