लुम्बिनी

धनेवा खोलाको पुल छ वर्षमा पनि बनेन

परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित धनेवा खोलामा निर्माणाधीन पुल ६ वर्ष बित्दा पनि बन्न सकेको छैन । सरावलको वडा नं ६ र ७ जोड्ने उक्त पुल समयमै नबन्दा स्थानीयवासीलाई सास्ती भएको छ ।

वर्षात्मा खोला तर्दा जोखिम हुन्छ । सो खोला तर्ने क्रममा बाढीले बगाउँदा दुई जनाको ज्यान गइसकेको छ । विसं २०६९ मा तत्कालीन भौतिक पूर्वाधारमन्त्री हृदेयश त्रिपाठीले उक्त पुलको शिलान्यास गरेका थिए । ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलाइ भइरहेको सरावल–७ का वडाध्यक्ष ह्रयात खाँ बताउछन् ।

उनले भने, “ठेकदारले बीचमै काम छाडेर गएको छ, हामीले पुल निर्माणका लागि पटकपटक पहल गर्दैआएका छौँ । ठेकेदारले बेवास्ता गर्दै आएको छ ।” कूल रु तीन करोड ६६ लाखको लागतमा बन्ने उक्त पुलको अहिलेसम्म चार पिल्लर मात्र ठड्याइएको छ ।