पु.समाचार

पुल निर्माणका लागि दबाब दिन रिले अनशन

धनुषा । कमल नदीमा पुल निर्माणका लागि दबाब दिन मंगलबारदेखि जनकपुरमा रिले अनशन सुरु गरिएको छ । हुलाकी सडक सङ्घर्ष समितिद्वारा शुरु गरिएको रिले अनशनको पहिलो दिन मंगलबार रामबालक यादव (सिरहा), विनयकुमार शर्मा (सिरहा), मनोज पासवान (सिरहा) र रामेश्वर यादव (सिरहा) अनशन बसेका छन् ।

यसअघि पुस १७ गतेदेखि सिरहामा पनि २४ घण्टे रिले अनशन जारी छ । कमला र बलान नदीमा गत २०६८ सालमै पुल निर्माणको काम शुरु गरिए पनि सात वर्ष बित्दा पनि निर्माण पूरा नभएकाले सरकारलाई दबाब दिन अनशन शुरु गरिएको संघर्ष समितिका संयोजक रामरिझन यादवले जानकारी दिए ।

कमला र बलान नदीमा अलपत्र अवस्थामा छाडिएको पुलको काम ६ महीनाभित्र सक्ने प्रतिबद्धता सरकारबाट नआएसम्म अनशनलगायत सङ्घर्षका कार्यक्रम नरोकिने संयोजक यादवले बताए ।

तराई मधेशको मेरुदण्ड मानिने हुलाकी सडकमा पर्ने कमला नदीको पुल निर्माण गर्न २०६८ साल जेठ ३१ गते शर्मा पप्पु लुम्बिनी जेभीले रु २८ करोड १५ लाख ९७ हजारमा ठेक्का लिएको थियो । साढे तीन वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता गरे पनि अहिलेसम्म काम पूरा हुन सकेको छैन ।

त्यस्तै सिरहा र सप्तरीलाई जोड्ने बलान नदीमा पुल बनाउन २०६८ साल चैत १५ गते रु २४ करोड १२ लाखमा शर्मा पप्पु जेभीले ठेक्का लिए पनि अहिलेसम्म काम सम्पन्न गर्न सकेको छैन । सो पुल निर्माणका लागि हालसम्म रु १५ करोड ५८ लाख भुक्तानी लिइसके पनि ५० प्रतिशत काम पनि हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

सङ्घर्ष समितिले गत भदौ ३१ गते प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलको अगुवाइमा राजविराजबाट हुलाकी सडकमा पैदलयात्रा आरम्भ गरी असोज ७ मा जनकपुर पुगेर प्रदेश नं २ को सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।

पुल निर्माणपछि जनकपुरबाट सिरहा जानलाई जम्मा २५ किलोमिटरको दूरी तय गरे पुगिन्छ । अहिले सिरहा जान झण्डै ६० किलोमिटरको यात्रा तय गर्नुपर्ने अवस्था छ ।

त्यस्तै बलान पुल निर्माण भएपछि जनकपुरबाट हुलाकी सडक हुँदै जम्मा ८० किलोमिटर दूरी तय गरेपछि राजविराज पुगिन्छ । अनशनकारीले ६ महीनाभित्र पुल निर्माण सक्न माग गरेका छन् ।