पु.समाचार

अनशनरत डा केसीको अवस्था थप गम्भीर भएपछि उपचारमा थप सुविधा

इलाम । चिकित्सा शिक्षा विधेयकसम्बन्धी असन्तुष्टि जनाउँदै यहाँ अनशनमा बस्नुभएका प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारमा थप सुविधा दिइएको छ ।

विगत सात दिनदेखि अनशनमा रहेका डा केसीलाई रगत, मुटु, फोक्सो र पिसाबसम्बन्धी समस्या देखिने भएपछि उहाँलाई स्वास्थ्य सुविधा थप गरिएको हो ।

“डा केसीको स्वास्थ्यमा धेरै किसिमका रोगको सङ्क्रमण देखिएकाले थप सुविधा दिइएको हो, स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उहाँलाई हामीले सुईबाट एन्टिबायोटिक (आइभी एन्टिबायोटिक) औषधि दिन शुरु गरका छौँ” इलाम अस्पतालका चिकित्सक डा वृजेशकुमार शाहले भने, “हामीले अरू सेवा पनि दिन खोज्यौँ तर डा साबले (डा गोविन्द केसी)ले मान्नु भएन ।” डा शाहका अनुसार अनशनरत डा केसीको मुटुको चाल घटेर ३५ र बढेर २०० सम्म पुगेको छ भने शरीरमा अक्सिजनको मात्रा घटेर ८० प्रतिशतसम्म पुगेको छ ।

डा शाहका अनुसार केसीलाई आइसियूमा राख्नुपर्ने भए पनि अस्पतालमा आइसियू नभएकाले उपचारमा समस्या देखिएको छ । उपचारका लागि डा केसी अन्यन्त्र जान नमानेपछि इलाम अस्पतालमै आइसियूको सेवा दिने तयारीसमेत भइरहेको उनले बताए ।