उर्जा

घलेम्दीका साधारण शेयर बाँडफाँड

काठमाडौँ । घलेम्दी हाइड्रो पावर कम्पनीको साधारण शेयर आज बाँडफाँड गरिएको छ । कम्पनीले बिक्री गरेका साधारण शेयरमा आवेदन गर्नेमध्ये ८० प्रतिशतले ३० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने करीब २० प्रतिशतले २० कित्ता शेयर प्राप्त गरेका छन् । सो कम्पनीको साधारण शेयरमा ५४ हजार ७१८ आवेदन परेका थिए । बिक्री प्रबन्धक भिबोर क्यापिटलका अनुसार २६ आवेदन रद्द भएका छन् । कूल १० हजार ६९९ जनाले २० कित्ताका दरले र ४३ हजार ९९३ जनाले ३० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

कम्पनीले यही पुस १९ देखि २३ गतेसम्म १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयर बिक्री गरेको थियो । त्यसमा २२ हजार कित्ता शेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । रु ५५ करोड जारी पूँजी रहेको आयोजनामा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत लगानी रहेको छ ।

घलेम्दी जलविद्युत् आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भइरहेको छ । उक्त आयोजनाबाट आगामी फागुनदेखि विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ ।