पर्यटन/संस्कृति

थारू समुदायको कला, संस्कृति र पहिचान संरक्षणका लागि प्रदेश सरकार तयारः मुख्यमन्त्री राउत

लहान । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले थारू संस्कृतिको सम्मान र पहिचानका लागि थारू सङ्ग्रहालय स्थापना गरिने बताएका छन् । माघी सङ्क्रान्तिको अवसरमा आज सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशाहामा आयोजित महोत्सवको उद्घाटन गर्दै उनले थारू समुदायको कला, संस्कृति र पहिचान संरक्षणका लागि सङ्ग्रहालय स्थापना गर्न प्रदेश सरकार तयार रहेको बताए ।

थारूको संस्कृति, कला र परम्परालाई उपेक्षा गरी थारू समुदायमाथि उत्पीडन भइरहे मुलुक समृद्ध हुन नसक्ने जिकिर गर्दै उनले प्रदेश नं २ मा थारू समुदायको प्रतिनिधित्व नभए पनि पक्षमा प्रदेश काम गर्ने आश्वासन दिए ।

नेपाली काङ्ग्रेसका सांसद तेजुलाल चौधरीले थारू समुदायको पहिचान र संस्कृतिको संरक्षणमा प्रदेश सरकारले उचित ध्यान दिनुपर्ने बताए । कार्यक्रममा थारू कल्याणकारी सभाका अध्यक्ष शिवनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपाने र रुवी कर्ण, सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरी र थारू कल्याणकारी सभाका पूर्वकेन्द्रीय सदस्य रामवती चौधरीले मन्तव्य राखेका थिए ।

सो अवसरमा थारू कल्याणकारी सभाका तर्फबाट मुख्यमन्त्री राउतलाई विभिन्न मागसहितको ज्ञापनपत्रसमेत बुझाइएको छ । दुई दिनसम्म चल्ने महोत्सवमा थारूको पहिचान झल्किने कला संस्कृतिको प्रदर्शनीसँगै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।