प्रदेश 1

डा. केसीको मागको विपक्षमा अनशनरत थापा अस्पताल भर्ना

इलाम । गत पुस २७ गते देखि आवरण अनशनमा रहेका विजय थापाको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आज अस्पताल भर्ना गरिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित चिकित्सा शिक्षा विधेयकलाई हुबहु संसद्बाट पारित गर्न माग राख्दै आमरण अनशनमा रहेका थापालाई निमोनियाको सङ्क्रमण देखिएपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको हो ।
अस्पतालका डा विजेन्द्र शाहका अनुसार थापालाई निमोनियासहित अन्य रोगको समेत सङ्क्रमण देखापरेपछि तत्काल अस्पताल भर्ना गरिएको हो । केही दिनअघि नै स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकले अस्पताल भर्ना हुन अनुरोध गरे पनि थापाले अस्पतालको सेवा नलिने भन्दै उपचारमा रहेका थिएनन्।
गत २५ मङ्सिरदेखि इलाममै अनशनमा रहेका डा गोविन्द केसीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा विधेयकको परिमार्जनको माग गर्दै अनशनमा रहेका डा केसीको समेत स्वास्थ्यमा समस्या परेपछि उपचारका लागि सोमबार इलाम अस्पताल ल्याइएको थियो ।