कर्णाली प्रदेश

सिस्नु हानाहान गरी सङ्क्रान्ति मनाउँदै

जाजरकोट । परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ ।

मङ्गलबार बिहानैदेखि जिल्लाको पूर्वी क्षेत्रको नलगाड नगरपालिका, बारेकोट गाउँपालिकामा सिस्नु हानाहान गरेर माघे सङ्क्रान्ति मनाउन टाढा टाढाबाट पाहुना पुगिसकेको पञ्च भयार माध्यमिक विद्यालय जिकुवाका शिक्षक वीरबहादुर खत्रीले बताए ।

यो परम्परा कहिलेबाट शुरु भयो भन्ने यकिन नभए पनि केटाकेटीले रमाइलोका लागि खेल्दाखेल्दै परम्पराको रूपमा स्थापित भएको हुनसक्ने नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले बताए । आजको दिन सिस्नु नछुने र नखेल्ने व्यक्ति सुँगुर हुने जनविश्वाससमेत रहेको पाइन्छ । विवाह गर्न मिल्ने नाता पर्नेहरूबीच बढी सिस्नु हानाहान गर्ने चलन स्थापित छ ।

सिस्नु खेल्न टाढाटाढाबाट नलगाड नगरपापालिका का १ देखि १० वडामा पुग्ने गर्दछन् । सिस्नु खेल्दाखेल्दै विवाहसमेत हुने गरेको छ । गाउँगाउँमा बाक्लो घर भएका ठाउँमा जम्मा भएर सिस्नु खेल्ने काम हुने नगरप्रमुख रावलले बताए । रुकुमको आठविसकोटमा पनि सिस्नु खेल्ने काम हुने गर्दछ ।

त्यस्तै तल्लो डोल्पामा बिहानै उठे (ढकुल्लो) खानेकुरा गाउँगाउँमा बाँड्नुका साथै (ठेलोवेजो) अर्थात गाउँभरीका यूवाहरु जम्म भएर बन्दुकबाट तारो हानेर सङ्क्रान्ति बनाउने काम हुने मुट्केचुला गाउँपालिका–९ सर्मीका शिक्षक हस्तबहादुर बुढाले बताए । जसले तारो हानेर जित्छ उसैलाइ केही रकम दिने गरिँदै आएको छ ।