लुम्बिनी

प्लाष्टिक झोलामुक्त उपमहानगर

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकालाई आजदेखि प्लाष्टिक झोलामुक्त उपमहानगर घोषणा गरिएको छ । उपमहानगरलाई वातावरणमैत्री नगर बनाउन यस्तो घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए। “प्लाष्टिकले वातावरण प्रदूषण हुनुका साथै मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्ने भएकाले यस्तो घोषणा गरिएको हो”, उनले भने ।

त्यस्तै प्लाष्टिकका गिलास, थाल, प्लेट र कचौरा समेतमा बन्देज लगाइएको छ । तुलसीपुर उपमहानगरपालिकालाई हरित नगरका रूपमा विकास गर्न उपमहानगरले विगतदेखि नै विभिन्न अभियान सञ्चालन गर्दै आएको बताउँदै नगरप्रमुख पाण्डेले प्लाष्टिक झोलामुक्त अभियान पनि त्यसैको निरन्तरता भएको बताए ।

उपमहानगरपालिकाले घोषणाको तयारी गरेसँगै तुलसीपुर उद्योग वाणिज्य सङ्घले प्लाष्टिक बढी मात्रामा प्रयोग हुने किराना व्यवसायीसँग छलफल शुरु गरेको अध्यक्ष वीरु रावतले जानकारी दिए । उनले यो सबैको साझा अभियान भएकाले निस्वार्थ सबैले साथ दिनुपर्ने बताए ।

मानिसले घरबाटै सामग्री खरिदका लागि झोला बोक्ने बानीको विकास गर्न सके यो अभियानले सार्थकता पाउने व्यवसायी राजन भण्डारीले बताए । शहरलाई सुन्दर राख्न र मानिसलाई स्वस्थ राख्न यो राम्रो कदम भएको स्थानीयहरूको भनाइ छ ।