कर्णाली प्रदेश

कठ्याङ्ग्रिँदो चिसोमा पनि महिनावारी हुँदा खुला आकाशमुनि

हुम्ला । तापमान झरेर माइनस १० देखि १५ डिग्री सेल्सियससम्म पुग्दा पनि हुम्ला जिल्लाका महिला महिनावारी हुँदा घर बाहिरै बस्ने गर्छन् । संस्कार भन्दै छाउ हुँदा घर बाहिरको आँगनमा आगोको सहायतामा उनीहरु खुला आकाशमुनिको चिसो रात कटाउन बाध्य छन् ।
हुम्लामा ७५ प्रतिशत महिलालाई महिनावारी भएको समयमा ३ देखि ५ दिन घरबाहिरै बस्नु पने बाध्यता रहेको छ ।

सर्केगाड गाउँपालिका वडा ३ उनापानी गाउँकी सविता थापाले आफूहरु महिनावारी हुँदा पुस–माघको कठ्याङ्गग्रिँदो चिसोमा खुल्ला आकाशमुनि बस्दै आएको बताइन् । सामाजिक मान्यता र वर्षौंदेखि जरो गाड्दै आएको कुसंस्कारले गर्दा महिलाले महिनावारीका बेला यस्तो सास्ती खप्नुपर्छ ।

उनापानी गाउँको बीचमा रहेको खाली जग्गामा रातको समयमा बालेको आगो ताप्दै बसेकी पञ्चकली भडेराले भनिन् – “म अहिले ४४ वर्षकी भएँ । मेरो महिनावारी शुरु भएदेखि आजसम्म घरको आँगनमा यसरी आगोको भरमा बस्दै आइरहेकी छु । फेरुवा र छालाको सानो लिप्टो (सानो टुक्रा) ओछ्यान लगाएर पातलो कम्बल ओढेर आगो नजीक बसेकी फडेराले यो महिलाहरुको रहर नभएर बाध्यता भएको बताइन् ।

अन्य गाउँपालिकाका महिला भने महिनावारी (छुई) हुँदा घरको जग छुन नपाए पनि गोठमा बस्दै आएका छन् । शिक्षित महिलाहरु पनि महिनावारी हुँदा घर बाहिरै बस्ने गर्छन् । फडेराले भनिन् – “यो कुनै छोइछिटो वा छुवाछूतको कुरा होइन तर, यति कुरा थाहा हुँदा हुँदै पनि गाउँ समाजका अगाडि निरीह भएर बस्नुको कुनै विकल्प छैन ।” बा¥ह उत्तीर्ण गरेकी उर्मिला रावतले यस्तो कुप्रथालाई मान्नु पर्दैन भनेर बहस गर्न खोज्दा समाजमा एक्लिने डरकै कारण चुप लागेर बस्नु पर्ने अवस्था रहेको दुःखेसो पोखिन् ।

उनापानि गाउँ जिल्लाकै शिक्षित गाउँका रुपमा चिनिएको भए पनि कुसंस्कारले जकडिएको परम्परा र धार्मिक अन्धविश्वासका कारण महिलाहरुले यो नियति भोग्नुपरेको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले बताए । चिसोका कारण यहाँका अधिकाँस महिला बाथ, दम, निमोनिया जस्ता रोगको शिकार बन्ने गरेका छन् । सर्केगाड गाउँपालिकामा मात्र नभएर जिल्लाका सातवटै गाउँपालिकामा यो चलन रहेको जिल्ला अस्पतालकी अनमी सरिता बोहराले बताइन् ।