गण्डकी प्रदेश

अन्नपूर्ण क्षेत्रका सडक धमाधम स्तरोन्नति गरिँदै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका सडकको स्तरोन्नति कार्य शुरु गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका सडकको स्तरोन्नति कार्य थाल्ने लक्ष्यअनुरूप बजेट समेत विनियोजन गरिएको जानकारी दिँदै गाउँपालिका अध्यक्ष युवराज कुँवरले सडकको स्तरोन्नति कार्य अघि बढिसकेको बताए ।

स्तरोन्नति गर्न लागिएका सडकमध्ये नयाँ पुल हुँदै घान्द्रुक जोड्ने सडकका लागि गण्डकी प्रदेश सरकारले रु दुई करोड १० लाख छुट्याएको छ भने अन्य अधिकांश सडकका लागि गाउँपालिकाले नै बजेट विनियोजन गरेको छ । गाउँपालिकाले काँडे हुँदै सल्यान जोड्ने ११ किमि। सडकका लागि रु ७० लाख छुट्याएको छ भने वीरेठाँटी हुँदै उल्लेरी जोड्ने १६ किमि सडकका लागि रु ४५ लाख विनियोजन गरिएको छ ।

लुम्ले घुम्ती हुँदै लान्द्रुक पुग्ने २२ किमि सडकका लागि ४० लाख छुट्याएको गाउँपालिकाले ढिकुरपोखरी धारपानी हुँदै देउराली जोड्ने नौ किमि सडक, नागडाँडा हुँदै कार्कीको तहरा जोड्ने १५ किमि। सडक र नागडाँडा हुँदै सेराचौर जोड्ने ११ किमि सडकका लागि रु २५÷२५ लाख छुट्याइएको छ ।

भौगोलिक अवस्थिति समेतका आधारमा सडकका लागि बजेट विनियोजन गरिएको जानकारी दिँदै अध्यक्ष कुँवरले प्रदेश सरकारको सहयोगमा स्तरोन्नति हुने सडकका लागि गाउँपालिकाको ३० प्रतिशत सहभागिता हुने बताए । गाउँपालिकाको बजेटबाट स्तरोन्नति हुने सडककका लागि २० प्रतिशत स्थानीय सहभागिता रहने उहाँले जानकारी दिए।