राजनीति

नेता खनाल र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

आज बिहान डल्लुस्थित खनाल निवासमा उक्त पार्टीका विदेश विभागका १ नम्बर ब्युरोको नेपाल–भारत विभागका उपप्रमुख साओ लियाङको नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डलले भेटघाट गरेको उहाँका स्वकीय–सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

उक्त भेटमा मुलुकमा विकसित पछिल्लो राजनीतिक अवस्था र नेपालको कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धबारे छलफल भएको स्वकीय–सचिव भट्टराईले बताए ।

भेटमा दुई देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो । भेटघाटमा पार्टीका केन्द्रीय विदेश विभागका हु ववेन, यु आलगायतका नेताको सहभागिता रहेको थियो ।