समाचार

द्वन्द्वमा मारिएका सुरक्षाकर्मीलाई शहीदको माग

काठमाडौँ । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घले द्वन्द्वकालमा मारिएका सेना, सशस्त्र, प्रहरी र गुप्तचरका सुरक्षाकर्मीलाई शहीदको रुपमा मान्यता दिनुपर्ने माग गरेको छ ।

सङ्घमा आवद्ध परिवारले माइतीघरमा विरोध प्रदर्शन गर्ने क्रममा विगतको १० वर्षको सशस्त्र युद्धमा देश र जनताको पक्षमा लडेका तथा राज्यको सुरक्षामा खटिएका केही सुरक्षाकर्मी बेपत्ता तथा घाइते भएकाले उनीहरुको खोजी तथा उपचारका लागि सरकारलाई आग्रह गरेका थिए ।

विरोध प्रदर्शनमा सहभागीले ‘अशक्त सुरक्षाकर्मीको उपचारको व्यवस्था गर्नुपर्ने’, ‘द्वन्द्वपीडित सुरक्षाकर्मीको माग पूरा गर्नुपर्ने,’ र ‘द्वन्द्वपीडित सुरक्षाकर्मीको सन्ततिलाई रोजगारीको प्रत्याभूति गर्नुपर्ने’ माग गरिएको प्लेकार्ड बोकेका थिए । सङ्घका अध्यक्ष हेमकुमारी घर्तीले शहीदलाई दिइने सम्पूर्ण सुविधा तथा द्वन्द्वपीडित सुरक्षाकर्मीका सन्ततिलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितताको माग गरे ।

देश र जनताको सुरक्षा दिने सिलसिलामा करीब दुई हजार ८०० सुरक्षाकर्मीले वीरगति प्राप्त गरेको बताइएको छ । करीब २०० सहभागीले माइतीघरबाट नयाँबानेश्वरसम्म पदयात्रा गरेका थिए ।