समाचार

पर्यटन क्षेत्रको नीतिगत सुधार गर्न सङ्घीय संसद् तयारः सभामुख महरा

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासमा आवश्यक कानूनी सुधारका लागि आफ्नो पूर्ण सहयोग रहने बताएका छन् । नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट (नाट्टा)को ५२औँ वार्षिक साधारणसभाको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकको समग्र आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए ।

“विश्वभरका पर्यटकलाई नेपालका बारेमा प्रचारप्रसार गरी नेपाल आउन अभिप्रेरित गर्ने कार्यमा सक्रिय नाट्टाले खेलेको भूमिका सराहनीय छ,”–उनले भने । सभामुख महराले सम्भावना बोकेको देश नेपालको विकास गर्नका लागि नीतिगत, कानूनी क्षेत्रमा सुधार गर्नु जरुरी रहेको उहाँको भनाइ थियो । नेपाली काङ्ग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन प्रतिनिधि सभाको सदस्यको हैसियतमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले पर्यटक मात्र आएर नहुने बताउँदै गुणस्तरीय पर्यटक ल्याउनका लागि सरकारले पूर्वाधारको विकास गर्नु जरुरी रहेको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाले धार्मिक पर्यटकीय दृष्टिकोणले पनि नेपाल महत्वपूर्ण गन्तव्यका रुपमा रहेकाले यसको प्रवद्र्धनमा लाग्न पर्यटन व्यवसायीलाई आग्रह गरे । “आर्थिक क्षेत्रको महत्वपूर्ण पाटो पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि सबै जुट्नुपर्छ,”–उनले भने । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले निजी क्षेत्रसँग सहकार्यमा अगाडि बढे मात्र पर्यटन क्षेत्रको विकास हुने बताए । “सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठूलो सहयोग गरेको छ”, उनले भने।

नाट्टाका अध्यक्ष सिएन पाण्डेले विशाल जनसङ्ख्या भएका भारत र चीनको पर्यटक ल्याउन सकेमात्र पनि पर्यटन क्षेत्रले मुलुकको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । “सन् २०१८ मा झण्डै १२ लाख पर्यटक नेपाल आएकाले नेपालमा पर्यटन क्षेत्रमा थप उत्साह जागेको छ,”–उनले भने । अध्यक्ष पाण्डेले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि सरकारले पूर्वाधार क्षेत्रमा लगानी गर्नु जरुरी रहेको बताए। हवाई र विमानस्थलको विकास भएमात्र पर्यटन क्षेत्रको विकास हुने उनको भनाइ थियो ।