पु.समाचार

निजी सवारीमा यात्रु बोक्ने सवारीसाधन कारवाहीमा

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमविपरीत यात्रु बोक्ने मोटरसाइकललाई कारवाही शुरु गरेको छ । उवर, टुटल, पठाओलगायतका मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका विशेष सूचनाका आधारमा चारवटा मोटरसाइकललाई कारवाही गरिएको हो । महाशाखाले बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र प्रदेश ३–०२–००३ प ६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही गरिएको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्तले निजी सवारी साधनले पैसा लिएर यात्रु बोक्न नपाइने भएकाले कारवाही गरिएको जानकारी दिए । यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारी साधनले उपदफा २ बमोजिम निजी सवारी साधन यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेकाले सोहीअनुसार कारवाही गरिएको पन्तले जानकारी दिए ।

कारवाही गरिएका मोटरसाइकल चालकलाई रु एक हजारसम्म जरिवना गरिएको महाशाखाले जनाएको छ । यसरी भाडामा यात्रु बोक्ने मोटरसाइकल धेरै रहेका भन्दै महाशाखाले यस्ता सवारी साधनमाथि विशेष कारवाही अभियान शुरु गरेको छ । नेपाल मिटर ट्याक्सी सङ्घका अध्यक्ष अर्जुन गौतम निजी सवारीसाधनले यात्रु बोक्दा सार्वजनिक सवारी साधनलाई समस्या परेको बताए ।