समाचार

राष्ट्रिपति, प्रधानमन्त्री, सभामुख र उपराष्ट्रपतिद्वारा माघे सङ्क्रान्तिको शुभकामना

काठमाडौँ । राष्ट्रिपति विद्यादेवी भण्डारीले माघ १ गते आ–आफ्नै परम्परा र शैलीमा मनाउने माघे सङ्क्रान्ति पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले माघे सङ्क्रान्ति पर्व स्नान, दान, पूजाअर्चना, मनोरञ्जनका साथै मिष्ठान्न भोजन गर्दै मनाउने प्रचलन रहिआएको उल्लेख गरेकी छन् । सन्देशमा राष्ट्रपति भण्डारीले थारु समुदायमा माघी पर्व नयाँ वर्षका रूपमा समेत धुमधामसँग मनाइने उल्लेख गरेकी छन् ।

“यस पर्वले हाम्रो समाजका विभिन्न जातजातिबीच आपसी मेलमिलाप अभिवृद्धि गरी सामाजिक एकता सुदृढ बनाउन मद्दत गर्ने विश्वास मैले लिएको छु । विशिष्ट सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्,” राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।

यस्ता पर्वले भौगोलिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न उल्लेख्य योगदान दिने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विभिन्न समुदायले एउटै पर्वलाई फरकफरक नाम र मान्यताले मनाउने यस विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता सुदृढ पार्न मद्दत पु¥याउने बताएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको बताएका छन् ।

माघे सङ्क्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि विज्ञप्तिमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता नेपालको मौलिक पहिचान भएको र विविधताबीचको यस्तो एकताको प्रवद्र्धन हामी सबैको साझा ध्येय भएको बताएका छन् ।

सबै जात र समुदायको सहभागितामा निर्माण गरी जारी गरिएको संविधान कार्यान्वयन गर्दै हामी ‘समृद्ध नेपाल, सुखी नेपालीको ध्येय हासिल गर्न अग्रसर छौँ’ विज्ञप्तिमा भनिएको छ । अभियानलाई सफल पार्न सरकार र सबै सङ्घसंस्था तथा समुदायले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको विज्ञप्तिमा विभिन्न जाति, जनजातिको पहिचान दर्शाउने आ–आफ्नै संस्कृति र चाडपर्व रहेको ती पर्वले सबैको घरमा सुख र शान्तिको अनुभूति गराउन सकोस् भन्ने शुभेच्छा प्रकट गरिएको छ ।

सम्पूर्ण नेपालीेको बीचमा यस पर्वले बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ । सरकार सबै जातजाति र समुदायका चाडपर्वको संरक्षणमा उत्तिकै संवदेनशील रहेको उल्लेख गरिएको विज्ञप्तिमा हाम्रा यस प्रकारका चाडपर्व पर्यटकीय आकर्षणका लागि पनि प्रभावकारी हुने जनाइएको छ ।

सभामुख कृष्णबहादुर महरा भन्छन्

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले सांस्कृतिक विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको बताएका छन् ।

थारू, मगरलगायत आदिवासी जनजाति समुदायको सांस्कृतिक पर्व एवं नेपालीको महत्वपूर्ण चाड माघे सङ्क्रान्ति/माघ पर्व/माघे सकरातीको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले यस पर्वले सबै जातजाति, समुदाय र नेपालीमाझ आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवद्र्धन गर्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी भएको उल्लेख गर्दै सभामुख महराले नेपालको सांस्कृतिक विविधताले विश्वमै छुट्टै पहिचान कायम गरेको बताए। उनले थारू समुदायले माघी, मगरले माघे सकराती र देशभरका आम नेपालीले माघे सङ्क्रान्तिका रुपमा मनाउने यस पर्वले आपसी सद्भाव, सहिष्णुता र एकताको विकास गर्नाका साथै पारिवारिक मिलन तथा भावनात्मक एकता गराउँदै आएको बताएका छन् ।

नेपाल विविधताले भरिपूर्ण छः उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण रहेको बताएका छन् ।

माघेसङ्क्रान्तिका अवसरमा उनले आज एक शुभकामना सन्देश दिदै स्वदेश तथा विदेशमा रहेका मगर, थारू र छन्त्याल समुदाय तथा नेपाली दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

नेपालका सबै समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्व रहेको उल्लेख गर्दै उपराष्ट्रपतिले अनेकौँ संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर सप्तरङ्गी सम्मिश्रण एवम् साझा सङ्गमका रुपमा रहिआएको नेपाल राष्ट्र सामाजिक सद्भाव र सौहाद्र्रताका लागि विश्वकै नमूना राष्ट्र भएको स्पष्ट पारेका छन् । उपराष्ट्रपतिले यस पर्वलाई सकारात्मक कामको थालनी अर्थात् सकारात्मक ऊर्जाको शुरुआतका रुपमा मनाउन र आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको मार्गमा अगाडि बढ्न आग्रह गरेका छन् ।

माघीलगायत नेपालका मौलिक सांस्कृतिक एवम् धार्मिक चाडबाडहरु राष्ट्रकै सम्पत्ति भएकाले ती अमूल्य सम्पत्तिको संरक्षण एवम् प्रवद्र्धनका लागि राज्यका तर्फबाट नै उचित पहल हुनुपर्नेमा जोड दिएका छन् । यस्ता पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि हुँदै जाने र हाम्रो मौलिक संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनमा योगदानसमेत दिने अपेक्षा उपराष्ट्रपतिले गरेका छन् ।