समाचार

महाकाली पुल बनाए नेपाल–भारतबीचको व्यापार बढ्ने भएपनि ओली सरकार मौनः सभापति

अमरगढी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको बेवास्ताका कारण नेपाल–भारत जोड्ने महाकाली पुल निर्माण कार्य अगाडि बढ्न नसकेकोे बताएका छन् ।

डडेल्धुराको परशुराम नगरपालिका–५ महाकाली किनारमा जोगबुढामा ‘परशुराम धार्मिक, पर्यटन महोत्सवको आज उद्घाटन गर्दै सभापति देउवाले महाकालीमा पक्की पुल बनाउने योजना आफ्नो सरकारको पालामा अगाडि बढेको बताए । आफू प्रधानमन्त्री भएको बेला उक्त सम्झौता गरे पनि वर्तमान सरकारले त्यसप्रति बेवास्ता गरेको उनले आरोप लगाए । “महाकालीमा पुल बनाउन सके नेपाल–भारतबीचको व्यापारसमेत बढ्छ,” उनले भने ।

परशुराम धामको धार्मिक तथा पर्यटकीय महत्वको प्रचारप्रसार तथा प्रवर्धनका लागि महोत्सव आयोजना गरिएको आयोजक परशुराम नगरपालिकाका नगरप्रमुख तथा परशुराम धार्मिक, पर्यटन महोत्सवका संयोजक भीमबहादुर साउँदले बताए । परशुराम क्षेत्रको पुरातात्विक धार्मिक महत्व तथा इतिहासबारे प्रचारप्रसार गरी पर्यटन प्रवर्धनमा टेवा पु¥याउन महोत्वसबाट मद्दत पुग्ने उनको भनाइ थियो । महोत्सवमा महास्नान, गङ्गा आरती, मकर महास्नान, योग विज्ञान शिविर, सङ्गीतमय श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ, देउरा दर्शनलगायत कार्यक्रम प्रस्तुत गरिनेछ ।