आर्थिक

सामाजिक उत्तरदायित्व वहन गर्दै बैंक

दमौली । तनहुँ जिल्लामा सञ्चालनमा रहेका बैंकका शाखाहरुले सामाजिक उत्तरदायित्व वहन गर्दै सामाजिक क्षेत्रमा सहयोग गर्न थालेका छन् । तनहुँको दमौलीमा रहेको महालक्ष्मी विकास बैंक, कैलाश विकास बैंक र डुम्रेस्थित मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा खानेपानी र सरसफाइका सामग्री, विद्यार्थीलाई झोला र वडामा सडकबत्ती जडान गरेका हुन् ।

महालक्ष्मी विकास बैंकले आज ब्यास नगरपालिका–१० स्थित चण्डिदेवी माध्यमिक विद्यालयमा खानेपानी र सरसफाइका सामग्री उपलब्ध गराएको छ । बैंकले विद्यालयलाई एक हजार लिटर क्षमताको खानेपानी ट्याङ्की, दशवटा जग र पाँच थान डस्टबिन उपलब्ध गराएकोे शाखा प्रबन्धक सुदिप न्यौपानेले जानकारी दिनुभयो ।

उक्त सामग्री हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले सञ्चालनमा आएको चार महीनामै उक्त शाखाले सामाजिक उत्तरदायित्व वहन गर्दै सामाजिक कार्यको थालनी गरेकोमा खुशी व्यक्त गरे ।ब्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले बैंङ्ले सामाजिक क्षेत्रमा सहकार्य गर्दा बैंकप्रति समुदायको विश्वास बढ्ने बताए ।

यसैगरी बन्दीपुर गाउँपालिका–१ स्थित मुक्तिनाथ विकास बैंकले सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ । उक्त बैँकको तेह्रौँ वार्षिकोत्सवका अवसरमा सोही वडाको विष्णु माध्यमिक विद्यालयका तीस छात्रछात्रालाई झोला वितरण गरिएको शाखा प्रबन्धक ईश्वर सापकोटाले जानकारी दिए ।

यस्तै दमौलीस्थित कैलाश विकास बैङ्कले ब्यास नगरपालिका–३ पराशर टोलको चौतारामा बत्ती जडान गरेको छ । उक्त बैंकले चौताराका पिल्लरमा ३२ वटा बत्ती जडान गर्नाका साथै सोही चौतारामा फोहरमैला व्यवस्थापनका लागि पाँचवटा डस्टबिन समेत प्रदान गरेको शाखा प्रबन्धक मोहन थापाले जानकारी दिए ।