सुदूरपश्चिम

डम्पिङ साइड निर्माण गर्न नसक्दा फोहर व्यवस्थापनमा चुनौती

बैतडी । बैतडीका कुनै पनि स्थानीय तहले फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइड) निर्माण गरेका छैनन् । चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका कुनै पनि स्थानीय तहले फोहर व्यवस्थापन केन्द्र निर्माण गर्न सकेका छैनन् । स्थानीय सरकारले डम्पिङ साइड नबनाउँदा खुला स्थानमा फोहर फाल्दा विभिन्न खालका स्वास्थ्य समस्या ल्याउने स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्ला सदरमुकाम क्षेत्रमा समेत डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापन चुनौती बन्दै गएको छ । जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकासँग पनि डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापनमा समस्या देखिएको छ । २०५४ सालमा स्थापना भएको नगरपालिकाले विभिन्न ठाउँमा अस्थायी रुपमा फोहर व्यवस्थापन गर्दै आएको छ ।

केही वर्षसम्म सडक छेउमै फोहर व्यवस्थापन गरिरहेको नगरपालिकाले जनप्रतिनिधि आएपछि वडा नं ६ को आमपिपलमा अस्थायीरुपमा फोहर व्यवस्थापन गरिरहेको छ । डम्पिङ साइडको लागि जमीन खोज्न थालेको वर्षौं भए पनि उपयुक्त जमीन नमिलेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको क्षेत्र विस्तार भएकाले सबै वडाको फोहर व्यवस्थापनका लागि पायक पर्ने जमीनको खोजी भइरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताए । फोहर व्यवस्थापनका लागि नगरपालिकाले शुरुदेखि नै पहल थालेको भए पनि जमीन नपाउँदा समस्या भएको छ ।

यस्तै पाटन नगरपालिकामा पनि फोहर व्यवस्थापनको समस्या देखिएको छ । पाटन नयाँ शहर आयोजनाले डम्पिङ साइड निर्माण गर्ने भनेकाले नगरपालिकाले त्यसका लागि बजेट विनियोजन नगरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले जानकारी गराए । नगरपालिकाले अहिले घाङल खोलामा अस्थायीरुपमा फोहर व्यवस्थापन गरिरहेको छ । खुलारुपमै खोलामै फोहर फाल्ने गरेको त्यो फोहर सुर्नया नदीमा मिसिने गरेको छ ।

राज्य पुनःसंरचनापछि स्थापना भएका मेलौली नगरपालिका र पुरचौँडी नगरपालिकामा पनि डम्पिङ साइडको व्यवस्था छैन । यसका साथै यहाँका गाउँपालिकाले पनि डम्पिङ साइडको व्यवस्थान गर्न सकेका छैन । दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा डम्पिङ साइड छैन ।