समाचार

बुद्धका मूर्ति चोरी गर्ने पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले पुराना बुद्धका मूर्तिसहित एक जनालाई पक्राउ गरेको छ ।

टोलीले स्वयम्भू, सीतापाइला र भगवानपाउ इलाकामा पुरातात्विक महत्वका मूर्ति बेचविखन तथा कारोबार हुँदैछ भन्ने विशेष सूचनाका आधारमा सिन्धुलीका ३९ वर्षीय दिलबहादुर ल्योलेलाई शनिबार साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता होवीन्द्र बोगटीले झोलामा लुकाएर ल्याएका तीन थान बुद्धका मूर्तिसहित उनलाई पक्राउ गरिएको जानकारी दिए ।

भन्सार छलेर ल्याएको सुनसहित पक्राउ

परिसरको टोलीले भन्सार छलेर ल्याएको सुनसहित एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशबाट फर्किएका कामदारलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन ल्याउँदै गरेको अवस्थामा धनकुटाका २८ वर्षीय समीर श्रेष्ठलाई शनिबार साँझ पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका श्रेष्ठसँग सुनका चुरा पाँच थान र रु ४१ हजार बरामद गरेको छ । पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारवाहीका लागि राजश्व विभाग हरिहर भवन पठाइएको परिसरले जनाएको छ ।