राजनीति

औपचारिक कार्यक्रममा सुधार गरौँ- मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले औपचारिक कार्यक्रम झन्झटिलो र भद्दा गरेर समयको बर्बादी नगर्न अुनुरोध गरेका छन् ।

एउटै विषयमा दशौँ जनाले घण्टौँसम्म एउटै कुरा भनिरहने अनि उपस्थितले ताली पिटिरहने काम समयको बर्बादी मात्रै भएकाले त्यसलाई सच्याउनुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री पौडेलले कार्यक्रममा सम्बन्धित वक्ताले आवश्यक कुरा मात्र राख्ने र सम्बोधनको परम्परागत तरिकालाई पनि सच्याउनुपर्ने बताए ।

हेटौँडाको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले समयको महत्व बुझिदिन अनुरोध गरे । उनले औपचारिक कार्यक्रममा विदेशी वस्तुहरूको प्रयोग गरेर देशको लाखौँ करोडौँ नेपाली मुद्रा बाहिर पठाइनु देशको हितविपरीत भएको पनि बताए । “हामी कार्यक्रममा पाहुनालाई स्वागत गर्न विदेशबाट फूल, खादा र माला मगाएर प्रयोग गरिरहेका छौँ । यसले हामीलाई र हाम्रो देशलाई राम्रो गर्दैन, हामीलाई झन् गरीब बनाउँछ”, उनले भने, “परनिर्भरता त्याग्न र आत्मनिर्भर हुन पनि म सबैलाई अनुरोध गर्दछु ।”