गण्डकी प्रदेश

राहुघाटमा मोटर चल्ने पुल निर्माण शुरु

म्याग्दी । रघुगङ्गा गाउँपालिका वडा नं ४ र ५ को सिमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल निर्माण शुरु गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले सो पुल निर्माण शुरु गरेको हो ।

कम्पनीद्वारा निर्माण हुन लागेको ४० मेगावाट क्षमताको जलविद्युत आयोजनाको बाँधस्थलसम्म पुग्ने सडकमा बनाउन लागिएको उक्त पुलबाट झिँ, पाखापानी, ठाडाखानी र कुइनेखानीका बासिन्दालाई पनि सुविधा पुग्ने जनाइएको छ । यसै वर्षभित्र ४० मिटर लामो ट्रस प्रविधिको पुल बनाउने लक्ष्यसहित काम शुरु गरेको कम्पनीले जनाएको छ ।

पुल बनेपछि उक्त गाउँका बासीन्दाले घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता हट्ने गाउँपालिकाका अध्यक्ष भवबबहादुर भण्डारीले बताए । गाउँपालिकाले बाँध निर्माणस्थलदेखि पाखापानीको औल जोड्ने सडक बनाउने तयारी गरिरहेको उनले जानकारी दिए ।

रघुगङ्गा–३ घुमाउने तालदेखि वडा नं। ४ को बुक्ल हुँदै दग्नाम र झिँको सिमानामा निर्माण हुनलागेको बाँधसम्म ११ किमी सडकको मार्ग निर्माण गरिएको छ । गत असारमा मौवाफाँटदेखि नयाँ मार्ग खन्न शुरु गरेको भारतीय निर्माण कम्पनी जेपी एशोसियट्सले बाँध स्थलसम्म सडक पु¥याएको हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिए ।

सडक बनेपछि आयोजनाको निर्माण सामग्री ढुवानी, मजदुर, कर्मचारी र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । पहुँचमार्ग, आवास व्यवस्थापन, निर्माण सामग्री र उपकरण जुटाइसकेको ठेकेदार कम्पनीले आगामी माघको तेस्रो सातादेखि सुरुङ निर्माण शुरु गर्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत लगानी रहेको सो हाइड्रोपावरको सिभिल ठेकेदारले बाँध, सुरुङ र विद्युत्गृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाएको छ । एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋण लगानी रहेको आयोजना कम्पनीको अवधारणाअनुसार निर्माण हुनलागेको हो ।