समाचार

अपाङ्गता भएका व्यक्तिको लागि तालीम

काठमाडौँ । स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि आयोजित तालीम तथा स्वयंसेवी समूहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल भकभके सङ्घद्वारा शनिबार आयोजित एक दिवसीय तालीममा १५ जना स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको थियो । सङ्घले ‘स्पिच थेरापी’ तालीम र स्वयंसेवी समूहसम्बन्धी कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा सङ्घका अध्यक्ष सञ्जयकुमार झाले सरकारले स्पिच थेरापी सेवा उपलब्ध गराउनुका साथै विद्यालयस्तरका पाठ्यक्रममा स्वर बोलाइसम्बन्धी अपाङ्गताको विषयलाई समावेश गर्नुपर्ने माग गरे । नेपालको पछिल्लो तथ्याङ्कअनुसार अपाङ्गता भएका व्यक्तिको हिस्सा कूल जनसङ्ख्याको एक दशमलव ९४ प्रतिशतअर्थात् पाँच लाख १३ हजार ३२१ रहेका छन् । अपाङ्गतासम्बन्धी अधिकारकर्मीले राज्यका हरेक संरचनामा आफूहरूको समान सहभागिता हुनुपर्ने मागसमेत गर्दै आएका छन् ।