राजनीति

काँग्रेसविना विकास र समृद्धी असम्भब छ : उपप्रधानमन्त्री पोख्रेल

चितवन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले विकासका लागि पक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्ने बताएका छन् । विकासका लागि सबै मिल्नुमर्ने भएकोले काँग्रेसविना विकास असम्भब भएको पोख्रेलको दाबी छ ।

थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ खैरहनीले आजदेखि शुरु गरेको छैठौँ खिचरा महोत्सवको उद्घाटन गर्दै उनले देश विकासमा प्रतिपक्ष बनेर कुनै फाइदा नहुने बताए । सबै मिलेर देशलाई समृद्धितर्फ अघि बढाउनुपर्नेमा उनले जोड दिए । जनतामाझ गरिएका प्रतिबद्धता सरकारले पूरा गर्ने उल्लेख गर्दै उनले भने, “निर्वाचनको घोषणापत्रमा गरिएका प्रतिबद्धता यो कार्यकालमा पुरा हुन्छन् ।”

कार्यक्रममा प्रदेश नं ३ का भूमि व्यवस्था तथा कृषिमन्त्री दावा दोर्जे लामाले संस्कार जोगाउँदै संस्कृति संरक्षणको अभियानमा लाग्नुपर्ने बताए । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, थारु अगुवा जोखा चौधरी, थारु कल्याणकारिणीसभाका जिल्ला अध्यक्ष ललितकुमार चौधरी, कृष्णलाल चौधरी, चन्द्रकुमारी चौधरीलगायतले महोत्सवमा शुभकामना दिएका थिए ।

आगामी माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा थारु जातिका कला संस्कृति झल्कनेसहित विभिन्न १२० कक्ष रहेका छन् । महोत्सवमा दैनिक सांस्कृतिक कार्यक्रम हुने महोत्सवका संयोजक चूडामणि चौधरीले बताए ।