कर्णाली प्रदेश

दुई फरार अपराधी पक्राउ

सुर्खेत । सुर्खेत जिल्ला प्रहरी कार्यालयले शुक्रबार फरार दुई अपराधी पक्राउ गरेको छ ।

जिल्ला अदालतको फैसला कार्यान्वयन गराउने नीतिअन्तर्गत विभिन्न आपराधिक क्रियाकलापमा अदालतबाट सजाय पाई फरार भएका अपराधीमध्ये लेकबेँसी नगरपालिका–७ का ३० वर्षीय नरेन्द्र बुढा र २६ वर्षीय यमबहादुर थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादु्र क्षेत्रीले जानकारी दिए ।

वन मुद्दाको आरोप खेपेका दुबैलाई जनही एक दिन कैद र रु एक लाख २५ हजार १६५ जरिवाना तोकिएको उनले बताए ।

त्यस्तै प्रहरी सहायक निरीक्षक कृष्ण अवतार चौधरीको नेतृत्वमा गएको टोलीले बराहताल गाउँपालिका–२ सुर्खेतको दह सामुदायिक वनमा काठ तस्करी गरिरहेका चिङ्गाड गाउँपालिका–६ का २९ वर्षीय सुमन बुढामगरसहित पाँच जनालाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट २४ थान छ फुटे साल सात थान, सात फुटे साल पनि बरामद गरिएको छ। काठ तस्करीमा संलग्न अन्य चार फरार छन् ।