अन्तर्राष्ट्रिय

भारतीय धर्मगुरु रामरहिम पत्रकार हत्यामा दोषी ठहर

नयाँ दिल्ली । भारतका विवादास्पद धर्मगुरुले पत्रकारको हत्या गरेको अदालतले ठहर गरेको छ।

आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकोले गुरमित रामरहिम सिंहले पत्रकारको हत्या गरेको अदालतले शुक्रबार ठहर गरेको हो। संसारभरी लाखौँ समर्थक रहेका सिंहलाई अदालतले बलात्कार गरेको अभियोगमा यसअघि नै २० वर्षको जेल सजाय सुनाइसकेको छ।

अदालतले शुक्रबार गरेको फैसलाअनुसार पत्रकारको हत्यामा ५१ वर्षीय सिंहसँगै अन्य ३ जना सहयोगी पनि संलग्न रहेको ठहर गरिएको छ। उनीहरूले सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीलाई हत्या गरेका थिए।

सिंहले बलात्कार गरेको विषयमा अज्ञात व्यक्तिले लेखेको पत्र स्थानीय पत्रिकामा छापिएपछि छत्रपाटीको आफ्नै घरबाहिर हत्या भएको थियो। सिंहलाई आजीवन काराबाससम्मको सजाय हुन सक्ने बताइएको छ।

यसअघि सन् २०१७ मा भएको बलात्कारसम्वन्धी फैसलापछि उनका समर्थकहरू विरोधमा उत्रिँदा भएका झडपमा परी झन्डै ४० जना घाइते भएका थिए।